अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय, नयाँ मूल्य शनिबारदेखि लागु हुने

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:०६ मा प्रकाशित

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । अब उपभोक्ताले एक लिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । सरकारले उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य यही भदौ २१ गते शनिबारदेखि लागू हुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई आज पत्राचार गरेको छ । भोलि बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको हो ।

दूधको मूल्यबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनेको थियो । वार्षिक ६–६ महिनामा दूधको मूल्य समायोजन गर्नेगरी कार्यदलले प्रतिवेदन बुझाएको थियो । कार्यदलले दूध बढी उत्पादन हुने र कम उत्पादन हुने सिजनका लागि फरक–फरक मूल्य प्रस्ताव गरेको छ । जसअनुसार कम उत्पादन हुने सिजन (६ महिना) मा प्रतिलिटर १० रुपैयाँ र बढी दूध उत्पादन हुने सिजन (६ महिना) मा ६ रुपैयाँ मूल्य बढाइनेछ ।

कार्यदलका संयोजक तथा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले किसानको लागत मूल्य बढेको, कर्मचारीको तलब वृद्धि, वस्तुको मूल्य वृद्धिसँगै समयानुकूल नै दूधको मूल्य समायोजन हुनेगरी प्रस्ताव बुझाइएको बताउनुभयो । बढेको दूधको मूल्यबाट ६९ प्रतिशत सोझै किसानले पाउने र बाँकी ३१ प्रतिशत अतिरिक्त लागतबापत दुग्ध सहकारी वा दुग्ध उद्योगले पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू