अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

सुपुर्दगी विधेयक फिर्ता लिने निर्णयमा बेइजिङको समर्थन – कार्यकारी प्रमुख लाम

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:०१ मा प्रकाशित

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने आफ्नो निर्णयमा चीन सरकारको सम्मान र समर्थन रहेको बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा लामले सुपुर्दगी विधेयक अगाडि बढाउनेदेखि फिर्ता गर्ने सबै प्रक्रियामा आफ्नो दृष्टिकोणप्रति बेइजिङले समर्थन जनाएको उल्लेख गर्नुभयो ।

लामको यो भनाइ चीनको स्वायत्त क्षेत्र हङकङमाथि चीनको बढ्दो नियन्त्रणको प्रमाण रहेको विश्लेषण गरिएको छ । लामले प्रत्यक्ष वार्ताका लागि सरोकारवालालाई आह्वानसमेत गर्नुभएको छ । गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

तर, १४ हप्ता लामो विरोध प्रदर्शनपछि लामले बुधबार विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको थियो । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो । तर, प्रदर्शनकारीहरुले भने यो कदम ढिलो चालिएको भन्दै अन्तुष्टि जनाएका छन् । हङकङमा पूर्ण प्रजातान्त्रिक अधिकारहरू हुनुपर्नेलगायतका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने उनीहरुको अडान छ ।

बढ्दो विरोध प्रदर्शनपछि गएको जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिनुभएको थिएन । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक दुई प्रणालीअन्तर्गत् सन्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू