अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

नेपाल सहकारी पत्रकार समाजको नवौँ स्थापना दिवस सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ १९ गते ७:३१ मा प्रकाशित

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी उद्योग स्थापना गर्न आग्रह गरेकी छिन् । संवृद्ध देश निर्माणका लागि सहकारीले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक भइसकेको उनको भनाइ छ ।

नेपाल सहकारी पत्रकार समाजको नवौँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी उद्योग स्थापना गर्न अपरिहार्य भइसकेको बताइन् । संवृद्ध नेपाल निर्माण गर्न सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ । उत्पादनमा लगानी गर्न सहकारीकर्मीलाई आग्रह गर्दा पनि सहकारीले उत्पादनमा लगानी गर्न नसकेको मन्त्री अर्यालले गुनासो गरिन् । ‘अब हरेक सहकारीले एउटा उद्यममा लगानी गर्नुपर्छ’ उनले भनिन्,‘सहकारीका अगुवाले भाषण भाषण गर्ने मात्रै होइन । ’

सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लागेमा बढ्दो व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम प्रयोग गरेर उत्पादन बढाउनुपर्छ’ उनले भनिन् । 

मन्त्री अर्यालले पाठ्यक्रममा सहकारीको विषयवस्तु समावेश गर्न लागिएको र त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको बताइन् । ‘सहकारी क्षेत्रमा केही नयाँ गर्ने गरी सरकार अगाडी बढेको छ,’ उनले भनिन् । उद्यमशीलता बढाउनकै लागि सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गरिएको उनको भनाइ छ । ‘केही प्राविधिक विषय मिलाउने भन्दै मन्त्री अर्यालले भनिन्,‘अभियानकै अनुरोधमा कार्यान्वयन सुरु भइसकेको छ ।’ मन्त्री अर्यालले भूमिलाई निजी सम्पत्तिको रूपमा स्वीकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै बताइन् ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशवप्रसाद बडालले सहकारीलाई उत्पादनमा जान नीतिगत समस्या रहेको बताए । ‘सहकारी उद्योग स्थापना गर्न दर्जनौँ कानुन सुधार गर्न आवश्यक भएको उनको भनाइ छ । सहकारी ऐन संशोधन गर्ने क्रममा रहेकाले ऐन संशोधन पश्चात् सहकारी मोडेल अर्थतन्त्र निर्माण गर्न नीतिगत सुधार गर्नुपर्ने बडालले बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको विकासका लागि बोर्डले नीतिगत सुधार गर्दै आएको बताए ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला नाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, महासङ्घका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ (नेफ्स्कुन) का अध्यक्ष डीबी बस्नेत, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, काठमाडौँ जिल्ला सहकारी सङ्घका अध्यक्ष टेकप्रसाद चौलागाई, सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए ।

दुई पत्रकार पुरस्कृत सम्मानित
नेपाल सहकारी पत्रकार समाजको नवौँ स्थापना दिवसका अवसरमा क्लिमान्डुमा कार्यरत पत्रकार सोभित थपलियालाई पुरस्कृत गरिएको छ । सहकारी क्षेत्रमा कलम चलाए वाफत थपलियालाई ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

त्यस्तै सिजेएन संस्थापक सम्मान अन्तर्गत समाजका संस्थापक उपाध्यक्ष एवम् निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । पत्रकार द्वय थपलिया र सापकोटालाई प्रमुख अतिथि मन्त्री अर्यालले पुरस्कृत तथा सम्मान गरेकी हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू