अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

देशैभर रेडक्रस दिवस मनाइयो

बिआरटीनेपाल २०७६ भदौ १९ गते ७:२२ मा प्रकाशित

मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” #Love भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औँ स्थापना दिवस-१९ भाद्र आज देशैभर विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको तस्बिरमा माल्यार्पण गरी सोसाइटीका अध्यक्ष सञ्जीव थापाले दिवसको सुरुवात गर्नुभएको थियो । अध्यक्ष थापाले भन्नुभयो, “यस वर्षको मूल नारा “माया” ले हामी रेडक्रस प्रेमीलाई एक बनाउन मद्दत गरिरहेको छ ।” महामन्त्री धाख्वाले दिवसको सान्दर्भिकताबारे बोल्दै नेपाल रेडक्रसले सबैको सहयोग पाइरहेको र समुदायको मायाले नै रेडक्रस अगाडि बढेको धारणा व्यक्त गर्नुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पीताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्नुहुँदै यसलाई अझै सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्याराथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरूलाई सोसाइटीका अध्यक्ष सञ्जीव थापा र महामन्त्री देव रत्न धाख्वाले आजै पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो । माया झल्काउने फोटोतर्फ धनकुटाका हरि राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा प्रेरणादायी फोटोतर्फ कमल बास्तोला र रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल,पुरस्कृत हुनुभएको छ । नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरू तर्फ कक्षा ८ र एसइई परीक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो ।

यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गर्नुभएका नौ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्म कला मिश्र, माधवप्रसाद गुनी, मानबहादुर सिंह, ईश्वरी पन्त, दुर्गा बेलवासे, हुतराज भट्टराई र नारायण शाही रहनुभएको छ । सम्मानित हुनेहरूको तर्फबाट बोल्दै नेरेसोका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले २५ वर्ष संस्थामा काम गर्दा आफूले मानवीय क्षेत्रका धेरै कुरा सिकेको र सेवाको अवसर प्राप्त भएको बताउनुभयो ।

केन्द्रीय कार्यालयमा ४३ जनाले रक्तदान गर्नुभएको थियो । नेरेसोका स्वयंसेवक तथा कर्मचारीहरूले प्रतिभा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए । दिवसको पूर्व सन्ध्यामा बुधवार केन्द्रीय कार्यालय परिसर सरसफाइ गरिएको थियो ।

यस अवसरमा देशभरिका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा बढी उपशाखा र जुनियर युवा सर्कलहरूले विविध कार्यक्रमको आयोजना गरेका छन् । धादिङ र गोरखा जिल्लामा प्रभात फेरी र रक्तदान, पर्सामा प्रधानाध्यापकहरुसँगको अन्तरक्रिया, पर्वतमा सरसफाइ कार्यक्रम, बाँकेमा वृक्षारोपण र रक्त समूह परीक्षण, भक्तपुरमा पत्रकार भेटघाट, सुर्खेतमा कविता वाचन जस्ता कार्यक्रमहरू सञ्चालन भएको सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरूले बर्सेनि औसत २५ लाख मानिसलाई सेवा पुर्याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू