अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

सरकारले जनतालाई निराश बनाएको कांग्रेसको निष्कर्ष

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले जनतालाई पूरै निराश बनाएको निष्कर्ष निकालेको छ । केपीशर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको डेढ वर्षीय कार्यकालको समीक्षा गर्दै कांग्रेसले वर्तमान सरकारबाट जनतामा निराशा छाएको निष्कर्ष निकालेको हो ।

मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकार गठन भएको डेढ वर्षको अवधिमा मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको, राज्य संरचनाहरुको दुरुपयोग र राजनीतिकरण गरिएको, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति बढेको दाबी गर्नुभयो । उहाँले सरकारबाट लामो संघर्ष पपछि प्राप्त भएका अधिकारहरु खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वतःस्फूर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरुलाई ध्वस्त गर्ने प्रयास भइरहेको पनि टिप्पणी गर्नुभएको छ ।

परराष्ट्र सम्बन्धमा नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थहरुको सशक्त प्रतिनिधित्व गर्न नसक्दा अन्तरराष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता खस्केको कांग्रेसको ठहर छ । सहमहामन्त्री डा. महतले वर्तमान सरकारकै कारण अन्तरराष्ट्रिय लगानी घटेको पनि दाबी गर्नुभयो । “उच्च व्याजदर, उच्च कर र लगानीकर्ताहरुले कानूनी व्यवस्थालाई अनुसरणको साटो सरकारमा आसिनहरुको सेवा र शर्तमा ज्यादा ध्यान दिनुपर्ने वाध्यताले आन्तरिक र वाह्य लगानी निरुत्साहित भएको छ,” उहाँले भन्नुभयोे, “यसले गर्दा देशमा रोजगारीको अवसरहरु बढ्न सकेको छैन । देश र जनतालाई समृद्ध र सुखी बनाउने विषय नारामा सिमित भएको छ ।”

संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्ने क्रियाकलापमा सरकार आफै लागि परेको कांग्रेसको भनाइ छ । सरकारकै संविधान विरोधी क्रियाकलापले प्रतिगमनकारीलाई मद्दत पुगिरहेको कांग्रेसको दाबी छ । “जनताको लामो संघर्षको प्रतिफल स्वरुप प्राप्त अधिकारहरु खोस्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति स्वयं सत्तामा रहेका उच्चस्तरीय नेतृत्वहरुबाट बारम्बार आइरहेको छ,” महतले भन्नुभयो, “तर, उहाँहरुको क्रियाकलाप हेर्दा प्रतिगमनलाई मद्दत गर्ने काममा स्वयं संलग्न भएको आशंका बढेको छ ।”

लोकतन्त्र विरोधी शक्तिहरु सरकारको असफलता र कमजोरीहरुलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गर्न तल्लीन रहेका उनको भनाइ थियो । सहमहामन्त्री महतले कम्युनिष्ट सरकार माफिया र कमभन्दा कम समयमा विना परिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सिमित भएको आरोप लगाउँदै सरकार सत्ता नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको टिप्पणी गर्नुभयो । केन्द्रीय समिति बैठकले अहिलेको निराशाजनक परिस्थितिमा जनताले कांग्रेसको सशक्त भूमिकाको अपेक्षा गरेको निकष्र्ष निकाल्दै सरकारका जनविरोधीविरुद्ध संसद र संसद बाहिर आफ्नो भूमिकालाई अझै सशक्त बनाएर लैजाने प्रतिवद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू