अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

कोलम्बियाले युद्ध चाहेकोले सतर्क हुन सेनालाई भेनेजुएलाका राष्ट्रपति मदुरोको निर्देशन

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:२१ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले छिमेकी मुलुक कोलम्बियाले आक्रमणको तयारी गरिरहेकोले सतर्क रहन सेनालाई निर्देशन दिनुभएको छ । “कोलम्बिया सरकारले शान्ति चाहँदैन,“ मंगलबार सेनाको विशेष समारोहमा राष्ट्रपति मदुरोले भन्नुभयो “कोलम्बियाले युद्ध चाहेको छ । हिंसा चाहेको छ ।“

भेनेजुएलाका सेनालाई सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सेप्टेम्बर १० बाट दुई हप्तासम्म हुने सैनिक अभ्यासमा समयमा विशेष सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । दुबै देशका राष्ट्रपतिले एकअर्कालाई सशस्त्र विद्रोहीलाई शरण दिएको आरोप लगाएका छन् । कोलम्बियाको विद्रोही सैनिक बलका पूर्व प्रमुख वार्ताकारले आफू फेरि हतियार उठाउने बताएका थिए । उहाँले कोलम्बिया सरकारले सन् १०१६ को शान्ति सम्झौता पालना गर्न नसकेको आरोप लगाउनुभएको छ ।

त्यसैगरी कोलम्बियाका राष्ट्रपति इभान डुक्यूले र भेनेजुएलाका विपक्षी दलका नेता जुआन गुइदोले मदुरो सरकारले चरमपन्थी लडाकुलाई शरण दिएको आरोप लगाएका छन् । गुइदोले सन् २०१८ मा चुनाव अवैध भएको दाबी गर्दै जनवरीमा आफैंलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनलाई कोलम्बिया, संयुक्त राज्य अमेरिकालगायत ५० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।

गुइदो र कोलिम्बियाका अधिकारीहरु मिलेर गुरिल्ला शिविरमा विशेष निगरानी राखेका छन् भने उनीहरुले ती विद्रोही लडाकुले लागूऔषध तस्करी गर्ने गरेको आरोप लगाएका छन् । त्यसैगरी गुइदोले सीमाक्षेत्रबाट लडाकुहरु भेनेजुएला प्रवेश गरिरहेको स्याटेलाइट तस्बिरमार्फत जानकारी पाएको घोषणा गरेको केही समयपछि मदुरोले सेनालाई सतर्क रहन निर्देशन दिएका थिए ।

“हामीले केही हतियारधारी समूह भेनेजुएला प्रवेश गरेको प्रमाण फेला पारेका छौं, “ गुइदोले भनेका छन्, “हामी गम्भीर समस्यामा पर्दैछौं र भेनेजुएलाको सार्वभौम संकटमा पर्ने भएको छ।“ रुस, चीन, क्युबालगायतको मुलुकको समर्थन पाएका भेनेजुएलाका राष्ट्रपति मदुरोले गुइदो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खेलौना भएको आरोप लगाउनुभयो । अमेरिकाले मदुरो सरकारमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू