अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

टी–२० क्रिकेट वरियता नेपाल ११ औं स्थानमा यथावत

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको ट्वेन्टी ट्वेन्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत् रहेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट दुई सय एक रेटिङसहित दुई हजार आठ सय १८ अंक पाएको छ ।

नेपाल एसोसिएट राष्ट्र मध्येको वरियतामा भने शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । जिम्बावे हाल निलम्बनमा छ । ट्वेन्टी ट्वेन्टीको वरियतामा पाकिस्तान सात हजार तीन सय ६५ अंकसहित शीर्ष स्थानमा छ भने इङ्गल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो तथा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । इङ्गल्याण्ड शीर्ष, भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ । टेष्ट वरियतामा भने भारत पहिलो र न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
खेलाडीतर्फ टेष्टमा भारतीय कप्तान विराट कोहलीलाई दोस्रो स्थानमा धकेल्दै अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ शीर्ष स्थानमा पुगेको छ । एक दिवसीयमा भने विराट पहिलो र भारतकै रोहित शर्मा दोस्रो स्थानमा छन् । ट्वेन्टी ट्वेन्टीमा पाकिस्तानी खेलाडी बाबर अजाम शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया