अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

मैले चीनसमक्ष राजीनामा प्रस्ताव गरेको छैन – हङकङकी कार्यकारी प्रमुख लेम

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:४५ मा प्रकाशित

हङकङका कार्यकारी प्रमुख केरी लेमले आफूले कहिले पनि चीनलाई राजीनामाको अफर नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले राजीनामाको अफर चीनसमक्ष गरेको अडियो लिक भएकोमा मंगलबार पत्रकार सम्मेलन गरेर सो कुरा अस्वीकार गर्नुभएको हो ।

उहाँले आफूले चीन सरकारलाई कहिल्यै पनि राजीनामा प्रस्ताव नगरेको बताउनुभयो । हिजो एक गोप्य बैठकमा लेमले आफू राजीनामा दिन तयार रहेको जनाएको अडियो सार्वजनिक भएको थियो । लेमले राजीनामा दिनुपर्ने भन्दै केही महिना अघिदेखि हङकङमा आन्दोलन भइरहेको छ । कार्यकारी प्रमुख लेमले सो अडियोको आधिकारिकताका बारेमा भने प्रश्न भने उठाउनुभएको छैन । सो अडियोमा उहाँले आफैंलाई हङकङको घटनालाई लिएर जिम्मेवार ठानेको पाइएको छ ।

यस्तो घटना भएकोमा आफूले माफी पाउन नसक्ने अवस्था रहेको अडियोमा उहाँले उल्लेख गर्नुभएको छ ।‘‘मलाई विकल्प हुने भए मैले पहिला पद छोड्थें,’’ अडियो टेपमा भनिएको छ । मंगलबारको पत्रकार सम्मेलनमा लेमले अडियो मिडियामा गएको घटना पूर्ण रुपमा अस्वीकार्य भएको बताउनुभएको थियो ।

पत्रकार सम्मेलनमा लेमले हङकङको अप्ठेरो अवस्थामा आफूले स्थानीय जनतालाई मद्दत गर्न चाहेको समेत स्पष्ट पार्नुभयो । सबैको साझा लक्ष्य अहिलेको हिंसा रोक्नु भएको जनाउँदै उहाँले चाँडै शान्ति स्थापना हुने अपेक्षा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू