अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

दोस्रो विश्वयुद्धका ९६ वर्षीया भेटेरानले आफ्नै रेकर्ड तोडे

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:२७ मा प्रकाशित

शनिबार ९६ औँ जन्मदिन मनाएका दोस्रो विश्व युद्ध भेटेरान रे वुलेले धेरै उमेरका सबैभन्दा बढी सक्रिय स्कुभा डाइभरका नयाँ रेकर्ड राखेर आफ्नै पुरानो रेकर्ड तोडेका छन् । तीन वर्षदेखि लगातार उनले सो उपाधि हासिल गर्दै आएका हुन् । यसरी ९६ को उमेरमा पनि साइप्रसस्थित जहाजको भग्नावशेश अवलोकन गर्न १५ तले भवन बराबर गहिराइसम्म पौडिएर उनले सबैलाई आश्चयमा पारेका हुन् ।

उनले ४८ मिनेटसम्म ४२.४ मिटर गहिराइमा बसेर नयाँ रेकर्ड कायम गरेका हुन् । यसअघि उनको रेकर्ड ४४ मिनेटमा ४०.६ मिटर गहिराइ थियो । उनी भन्छन्, “यो वास्तवमै अविश्वसनीय छ । मैले पछिल्लो ५९ वर्षदेखि डाइभ गर्दै आएको छु र यस्ता प्रकारका समारोह नै सबैलाई याद रहन्छ जसमा आफूसँग अरु डाइभर पनि हुन्छन् ।” लर्नाका शहरको पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसो भनेका हुन् । साइप्रसमा बस्ने वुले दोस्रो विश्वयुद्धमा रेडियो अपरेटर थिए र उनले २०१७ र २०१८ का कार्यक्रममा पनि लगातार दुईपटक आफ्नो रेकर्ड तोडिसकेका छन् । उनको मूल राष्ट्र भने उत्तरपश्चि इङ्ल्यान्ड हो ।

उनले हेर्न गएको भग्नावशेश एउटा कार्गो भेसलको रहेको छ जुन एउटा ट्रक सहित सन् १९८० मा डुबेको थियो र सो ठाउँ अहिले प्रख्यात डाइभङि साइट मा बनेको छ । यस्तोमा उनीहरु डुबेको त्यो जहाजमा बसेर शेश अवलोकन गरेका हुन् । उनको जीवनबारे एउटा डकुमेन्टरी पनि रहेको छ जसको शिर्षक ‘असली जीवन ९० मा सुरु हुन्छ’ रहेको छ । उक्त फिल्म सेप्टेम्बरमै बोस्नीया–हर्जेगोभिना फिल्म फेस्टिबलमा देखाइनेछ । यसको ट्रेलरमा वुलेले भनेका छन्, “मलाई म बूढो भइसकेँ भन्ने कुरा अझै स्वीकार्न मन छैन । ”

प्रतिक्रिया