अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

अमेरिका र तालिबानबिच सहमति, ५४ सय अमेरिकी सैनिक फिर्ता हुने

बिआरटीनेपाल २०७६ भदौ १६ गते २१:५० मा प्रकाशित

अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान बिद्रोहीबिच सहमति भएको छ। तालिबानसँगको वार्तामा सहभागी भएका अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै दुई पक्षबिच सैद्धान्तिक सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सहमति अनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजाने छ ।

अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले टेलिभिजन अन्तर्वार्ताको क्रममा सहमतिबारे विस्तृतमा बताएका हुन् । तर सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी रहेको उनले उल्लेख गर्नुभएको छ । खलिलजादले सहमतिबारे टेलिभिजन अन्तर्वार्तामा जानकारी दिइरहेका बेला अफगानिस्तानमा ठूलो बिस्फोट भएको थियो । काबुलमा भएको बिस्फोटमा कम्तिमा पाँचजना सर्वसाधारणको ज्यान गएको छ भने अरु धेरै मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा तालिबानले लिएको छ । विदेशीको बसोबास रहेको हाउजिङ्गको कम्पाउण्डलाई लक्षित गरी बम बिस्फोट भएको हो ।

यो आक्रमणले अमेरिकाले तालिबानसँग गरेको वार्ता तथा सहमतिले अफगानिस्तानमा दैनिक जस्तो हुँदै आएका हिंसात्मक घटना रोकिने छैनन् भन्ने देखिएको छ, जुन कुरा सर्वसाधारणका लागि भयानक हो । तालिबानले सन् २००१ यता सबैभन्दा बढी क्षेत्रमा नियन्त्रण कायम गरेको छ र अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अफगान सरकार अमेरिकाको कठपुतली रहेको उसको आरोप छ ।

खाडी देश कतारमा नौ चरणमा भएको वार्तामा अमेरिका र तालिबान सहमतिमा पुगेको खलिलजादले टोलो न्युजलाई दिएको अन्तर्वार्तामा बताएका छन् । अमेरिकाले सेना फिर्ता लैजाने तथा तालिबानले अमेरिकी तथा उसका सहयोगीमाथि आक्रमण नगर्ने सहमति बनेको जनाइएको छ । हाल अफगानिस्तानमा झण्डै १४ हजार अमेरिकी सेना छन् । तालिबानले पनि खलिलजादले भनेको सहमति सत्य रहेको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू