अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

माहुरी मन्त्रीहरू

पेशल आचार्य २०७६ भदौ १६ गते ११:३७ मा प्रकाशित

सामयिक लेख

दसैँ, तिहार र छठ पर्वहरू रेमिटेन्समा तङ्ग्रिएको अर्थतन्त्रलाई अभ धराशायी बनाउँदै सकिए । पार्विक मीमांसाले हामीले अपनाएको शासन मात्र ‘गणतन्त्र’ रहेछ सत्ताको उपल्लो तहमा बसेका व्यक्तिहरूका शासकीय मानसिकताचाहिँ कति पनि फेरिएनछन् भन्ने नेगेटिभ सन्देश दिए । राष्ट्राध्यक्ष सामु बहालवाला र ‘विशिष्ट’भूपूहरू ‘प्रजाभाँती’मा ‘घुँडा मार आसन’ गर्दै टीका लगाए । जसको देशभित्र र विश्व सामु राम्रो मेसेज गएन । कामना गरौँ, आगामी वर्षमा संस्थाले अवश्य सच्याउला ।

प्रधानमन्त्री केपी ओली उपचारपछि निको भई निवास फर्किए । चाडबाड मनाउन टाढा घर गएका नेपालीहरू कार्यक्षेत्र फर्किसके । फुल स्पिडमा समाज फेरि दैनन्दिन गति पक्रन चलायमान छ । यतिखेर देश दौडेको छ । सरकार दौडेको छ । पछिपछि प्रादेशिक सरकार नाखुस भएरै दौडेका छन् । स्थानीय सरकारहरू केन्द्रीय ताल मिलाउँदै लुखुरलुखुर गर्दै छन् । जनइच्छा क्रमशः सडक, पुल, बिजुली, स्वास्थ्य चौकी, शिक्षा, महँगी र शान्ति सुरक्षासँग जोडिँदै चुलिँदा छन् भने सत्तासीनहरू प्रक्रियाका ढर्रामा शासन सञ्चालनार्थ प्रस्तुत भइदिनाले जनमन भने जति खुस हाल छैनन् ।

नेकपाका ‘कोपाइलट’ प्रचण्डले ‘मौसमले साथमा अब सरकार फुल गियरमा काम गर्छ’ भन्दैछन् । ‘सरकार गठन हुँदा १ गियरमा रहेको तर अब गियर चेन्ज गर्ने बेला आएको’ बताउँदै छन् । प्रचण्डका बोली अनेकार्थी हुन्छन् । बोल्दा सुख छैन नबोल्दा नि सुख हुँदैन । राजनीतिमा बेहद् प्रभाव छाड्ने प्रचण्ड दसैँताक धेरै बोलेनन् । रामवीर प्रकरणमा उनले वामदेवलाई संसद्मा लैजान गरेको ‘तिकडम’ पटाक्षेप भइसक्यो ।

प्रम ओलीले केहीअघि कार्यकर्ताहरूलाई ‘अरिङ्गाल’ हुन दिएको निर्देशनको चौतर्फी विरोध हुँदा पछि परिमार्जन गर्दै ‘माहुरी भई काम गर्नु’ भन्ने अन्तर्य निकालियो । कार्यकर्ता मात्रै माहुरी नभई कर्मचारी, मन्त्री, मुख्यमन्त्री र स्थानीय सबैले ‘माहुरी’ बन्नुपर्ने हो । प्रम हैसियतले ओलीले दुईपल्ट काठमाडौँका खाल्डाखुल्डी पुर्ने निर्देशन दिए तर ज्यानमारा खाल्डा पुरिएनन् । बल्खुमा विश्व साइकल यात्री श्याम सुन्दर श्रेष्ठको खाल्डामा खसी नाहकका ज्यान गयो । ट्राफिकले राजधानीमा गाडीसंख्या १० लाख नाघेकाले मौजुदा जनशक्तिले थेग्न नसक्ने बताउँदै काठमाडौँका १६ स्थानलाई ‘ब्ल्याक स्पट’ नामकरण ग¥यो । चौतर्फी बेथितिले गाँजेको राजधानीलाई सफा र हराभरा बनाउन कुनै ‘माइलका लाल’ जन्मिएनन् । 

सरकारले दीर्घकालीन विकासे खाकाहरूको फेहरिस्त मन्त्रालयमार्फत भटाभट ल्याउनुपर्ने हो, ल्याएन । कुरामै अल्झे मन्त्रीहरू । ‘सङ्घीयता कार्यान्वयनमा ढीट कर्मचारीतन्त्र असहयोगी’ भन्ने कुरा मन्त्रीहरू गर्न थाले । सरकार सङ्घहरूलाई समन्वय गर्न अलमलियो । प्रदेश कानुनहरू समयमा निर्माण नभइदिनाले मुख्यमन्त्रीहरू तीव्रत्तर गतिमा सङ्घीयता अघि बढाउन सकिरहेका छैनन् । प्रदेश –२ ले प्रहरी विधेयक प्रदेशसभाबाट पारित गरेपछि केन्द्र र प्रदेशबिच कम्युनिकेसन ग्याप भएको कुरा बाहिर आयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पी.एस्.गुरुङले प्रदेश समन्वय परिषद्को बैठक रोकिएपछि डाकिएको मुख्य मन्त्रीहरूको भेलामा प्रदेशहरू अधिकार लिएर काम गर्न आतुर भएको सन्देश दिए ।

दुई तिहाइ बहुमत सरकारका मन्त्रीहरूले बोलेका अभिव्यक्ति विवादमा तानिँदा छन् । कात्तिक पहिलो साता महोत्तरीको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षा सङ्काय खारेज गरी सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयमा लैजाने’ भन्ने बोले । कुरा महत्त्वपूर्ण हो, विद्यालयबाटै प्राविधिक र सामान्य धारका शिक्षाको आवश्यकता महसुस भएको छ तर सँगै अर्को महत्त्वपूर्ण कुरा के भने ‘शिक्षा सङ्काय पनि विज्ञान भएकाले यसको क्षेत्र फराकिलो छ । यसभित्र बाल मनोविज्ञान, सिकाइ प्रविधि, शिक्षण सिद्धान्त र शैक्षिक विधि अध्यापन गराइन्छन् । ती विषयमा अस्पष्ट मानिस कामचलाउ शिक्षक बन्लान् तर सफल बन्दैनन् । सफल शिक्षक बन्न शिक्षा पढेकै मानिस हुनै पर्ने भएकाले मन्त्रीको भनाइमा दम छैन ।’ उनको अभिव्यक्ति लहडी पाराको भयो ।

असल प्राध्यापक र शिक्षकविना संसारको कुनै देश बनेको देखाइदिनुस् त मन्त्रीज्यू ? आविष्कार र अनुसन्धानका कार्यहरू शैक्षिक अभियन्ताहरूले नै गरेको विश्व इतिहास साक्षी छ । भारतका पूर्व राष्ट्रपति एपिजे कलामलाई भलिभाँती पढे पुग्छ, टाढा जानै पर्दैन । बरु विचाराधीन मेडिकल विधेयक ‘गरिब र मेधावी छात्रछात्राले कम खर्चमा डाक्टरी पढ्न सक्ने गरी’ हिउँदे अधिवेशनबाट पारित गर्ने व्यवस्था मिलाउनोस् । बस्, तपाईँ ‘कर्मनिष्ठ’ मन्त्री विशेषणले चर्चित हुनु हुनेछ ।

मन्त्रीहरूको ‘पठन कल्चर’ कमजोर छ । सपना देखाउने नेतामध्ये कम नेता ‘पुस्तक’ पढ्छन् । विश्व इतिहास पढ्दा ज्ञात हुन्छ –संसारमा सबैभन्दा पहिले इतिहास पढाउने फ्रान्स हो । यावत् क्रान्तिगाथाहरूलाई कोर्समा राखेर उसले सन्ततिलाई देशको वास्तविक अवस्था पढाउने ऐतिहासिक प्रसङ्ग सुरु ग¥यो त्यसले गतिलो सन्देश दिएको छ । मृत भाषा मानिएको संस्कृतलाई युरोपले सम्मानपूर्वक पढाउँछ । गायत्री मन्त्रको प्रभावबारे भारतको ‘एम्स’ले वर्षौँको रिसर्चपछि नयाँ तथ्य बाहिर ल्यायो ।

राष्ट्रले नवसन्ततीलाई इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र, आध्यात्मिक मूल्य शिक्षा र जनसङ्ख्या अध्यापन गराउनुपर्छ । आफू उभिएको भुईँको धरातलीय ज्ञान दिइएन भने प्राविधिक शिक्षा मात्र लिएको मानिस मेसिन म्यान हुन्छ कतै काम लाग्दैन । सरकारले कूल बजेटको शून्य दशमलव ८९ प्रतिशत बजेट विज्ञानमा छुट्ट्याएको देख्दा देश विज्ञान र प्रविधिमा कति सुस्त छ भन्नै पर्दैन ।

एउटा रमाइलो प्रसङ्ग । टेलिभिजन वार्तामा आफ्नो समयकी चर्चित नायिका बिना बुढाथोकीले प्रश्नको उत्तरमा ‘सगरमाथाको उचाइ आफूलाई नआउने’ बताउँदा सहभागीहरू मरी मरी हाँसे । जीवनमा आफ्नो क्षेत्रको कुरा मात्रै जानेर हुँदैन । सामान्य कुराहरू पब्लिक फिगरले जान्नै पर्ने आवश्यकता हुन्छ ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आविष्कारक महावीर पुन यतिखेर आफूले पाएको विश्व प्रसिद्ध म्यागासेसे पुरस्कार लिलामीमा राखेर केन्द्रका लागि रकम जुटाउने ध्याउन्नमा युरोप र अमेरिकाको भ्रमणमा छन् । परदेशी नेपालीले जति मन लगाएर उनका कुराहरू सुन्छन् घरदेशका नेपालीले सुनेकै छैनन् । सत्तामा गएका प्रजातन्त्रवादी, समाजवादी र उदारवादी जो कसैले उनका देश बनाउने कुरालाई चासोपूर्वक सुन्ने काम गरेको देखिएन । सरकार विकास र समृद्धिको गफ दिन्छ तर पुनजस्तालाई ‘थिङ् ट्याङ्क’ बनाएर विज्ञान र प्रविधिमा सँगै हिँडौँ भन्दैन । यो देशका लागि विडम्बना हो ।

विश्वमा छरिएर रहेका नेपालीहरू आफू जहाँजस्तो अवस्थामा भए पनि मातृभूमि विकसित होस् भन्छन् । तिनीहरूमा देशका लागि योगदान गर्नुपर्छ भन्ने भावना छ । उदाहरण ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई हेर्दा हुन्छ । अभिनेता सीताराम कट्टेलले धादिङ, सिन्धुपाल्चोक, महोत्तरी, रौतहट र चितवनमा गरेका तमाम सामाजिक कार्य प्रेरणादायी छन् । असल काम थालनी हुनुप¥यो जनता ‘होस्टेमा हैँसे’ गर्न आतुर छन् ।

बिदेसिएका नेपालीलाई मन पर्ने र जनभावना समेटिने कार्य जनस्तरबाट थालनी गर्ने हो भने पैसो जुटाउन कुनै आइतबार पर्खनै पर्दैन । देशमा तरल पूँजीबहाव धेरै छ भन्ने तथ्य हाइड्रोले निकाल्ने सेयर किन्नका लागि हुने भीडबाटै थाहा पाइन्छ । लगानीमा जनता व्यग्र छन् । सकारात्मक सोच भएका ड्राइभ गर्ने अभियन्ताको खाँचो छ । सरकारी मुख ताकेर मात्र हुँदैन । नेपालीहरू दानमा दिल खोलेर दिन्छन् भन्ने कुरा सामूहिक महापुराणहरूमा जुटेका नगद र जिन्सीबाटै पत्तो पाइन्छ ।

देश सङ्घीयतामा गइसक्यो । सङ्घले प्रदेशलाई रचनात्मक विकास गर्ने फुलफेज छुट दिएको छ । सरकारले देशभरिका सय वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक ग¥यो । जुन हचुवाका भरमा घोषणा भए भन्दै विरोध पनि भए । केन्द्रले प्रदेशका पर्यटकीय गन्तव्यहरू यी यी हुन् भनेर केन्द्रबाटै ‘कटुवाल शैली’मा फुक्ने होइन । स्थानीय र प्रदेशबाट वस्तुपरक राय लिएर नयाँ तरिकाले काम गर्दा आन्तरिकवाह्य पर्यटकहरू बढी आउँछन्, सोका लागि विषयविज्ञको रायसहित अनुसन्धान हुनुप¥यो । चुस्त्दुरूस्त भौतिक पूर्वाधारहरू प्रबन्ध गर्नुप¥यो । अनि पर्यटन उद्योग लोकल लेभलका आवश्यकतामा एकाएक जोडिन्छन् ।

यमनका लागि नेपाली राजदूतले एउटा वार्तामा दुःखसाथ भनेछन् –‘पर्यटन बोर्डले बनाएका कर्मकाण्डी वृत्तचित्रहरूले अलिअलि भएको नेपालको अन्तर्राष्ट्रिय छवि पनि धमिल्याएको छ । नेपाल चिनाउन विदेशीले बनाएका वृत्तचित्रबाट काम चलाइन्छ ।’ राजदूतले यसो भन्नु लाजमर्दो हो । बाह्य पर्यटकहरू देशमा भित्र्याउन यस्ता कुरामा सम्बन्धित क्षेत्रको ध्यान जानुपर्छ । श्रम सम्झौतामा मलेसियासँग भएजस्ता सम्झौता सबै राष्ट्रसँग तीव्ररूपमा हुनुपर्छ ।

सबैले गर्ने काम गरेर लोकप्रिय हुन्छु भन्दा त्यही काम फरक शैलीमा गर्ने हो । अब कर्मकाण्डी विकास गरेर हामी गोल चक्करमा घुमिरहन्छौँ । जनतासँग एकाकार हुने सिर्जनात्मक काम गर्न मन्त्रीहरूले फिल्डमा गई अनुसन्धान गर्ने, ग्राउन्ड रियालिटी बुझ्ने रकम विवादका कार्य गर्ने संस्कृति अवलम्बन गर्नुपर्छ । न कि भोटरलाई खुसी पार्न वा सस्तो लोकप्रियताका लागि मुखमा जे आयो ‘प्याच्च्य’ बोलिहाल्ने ।

प्रधानमन्त्री देशको ‘रानो’ हो भने ‘मौरी’ उनको टिमका मन्त्रीहरू । क्याबिनेटलाई जनताको भलो हुने कामहरू गर्छु भन्दा कुनै लन्जोफन्जोले छेक्दैन । सोलो डोलो जनअभिमतलाई स्यालुट गर्न मन्त्रीहरूले मह बनाउने ‘कर्मी मौरी’ बन्नै पर्छ न कि मह खाने ‘भाले मौरी’ । सरकार गठन भएको नौ महिना बित्यो । जनताका मनमा निराशाका तुवाँला देखिँदा छन् । धुमिल भएको परिस्थितिलाई चिर्न के मन्त्रीहरू ‘कर्मी मौरी’ बन्छन् ? निचाल गरेर जनता मन्त्रीका चियो गरिरहेका छन् ।

।।समाप्त ।।