अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

मलेसिया तथा खाडीमा कार्यरत नेपालीको जीवन रक्षा र मर्यादित रोजगार प्रमुख एजेन्डा – एनआरएनए उपाध्यक्ष आचार्य

बिआरटीनेपाल २०७६ भदौ १६ गते ०:०८ मा प्रकाशित

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्या्दित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताउनुभएको छ । एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रबल दावेदार आचार्यले हरेक दिन कम्तीमा दुईजना नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको दृष्टान्त ज्यादै दुःखद रहेको बताउनुभयो ।

आचार्यले मलेसियामा हरेक दिनजसो नेपाली दाजुभाइहरुको हृदयाघात भएर मृत्यु अनि अंगभंग हुने, घाइते हुनेजस्ता समस्या रहेको पनि बताउनुभएको छ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भन्न्ुभयो, ‘विभिन्न समस्यामा परेका नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई सहयोग गर्न तपाईंहरुले एउटा कल्याणकारी कोष स्थापना गर्न लाग्नु भएको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ, त्यसमा मेरो व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहनेछ ।’

अध्यक्ष भवन भट्टजस्तै आफुले पनि बेलायतमा भाडा माझेर व्यवसाय शुरु गरेको स्मरण गर्दै उहाँले मलेसिया लगायतका मुलुकहरुमा काम गर्ने नेपालीहरुको पीडा आफुले राम्रोसँग बुझेको दावी गर्नुभयो । गैरआवासीय नेपाली संघ धन हुनेभन्दा पनि मन हुनेहरुको संस्था रहेको उल्लेख गर्दै आचार्यले संस्थालाई सबै गैरआवासीय नेपाली अटाउने साझा चौतारी बनाउने आफ्नो मिशन रहेको बताउनुभयो ।

एनआरएन युकेका पूर्व अध्यक्ष आचार्यले एनआरएन युकेले एउटा कल्याणकारी कोष खडा गरेको र त्यसबाट पीडित नेपालीहरुलाई सहयोग गर्ने परिपाटी शुरु गरेको स्मरणसमेत गर्नुभयो । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा अयोजित कार्यक्रमको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले लगायतकाको उपस्थिति रहेको थियो ।

नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्ष भन्दा बढी समय देखि बन्द छ । मलेसिया जाने नेपाली कामदारको संख्या घटे पनि मृत्यु र अंगभंग हुनेको संख्यामा सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्ष करीब २०० जना नेपालीले ज्यान गुमाइसकेका छन् । ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू