अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

नेयमार पीएसजीमै रहन बाध्य, बार्सिलोना र म्याड्रिडको प्रस्ताव पीएसजीद्वारा अस्वीकार

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:०४ मा प्रकाशित

ब्राजिलियन फरवार्ड नेयमार अन्तत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मै रहने भएका छन् । स्पेनिस दुई क्लब बार्सिलोना र रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्ने औपचारिक प्रस्ताव गरेपनि पीएसजीले अस्वीकार गरेपछि नेयमारले पीएसजीमै रहन बाध्य भएका हुन् ।

नेयमारले आफ्नै तर्फबाट पनि बार्सिलोना जाने प्रयास गरेका थिए । बार्सिलोना पनि आफ्ना पूर्व स्टार नेयमारलाई भित्र्याउन लागि परेको थियो तर पीएसजीले बार्सिलोनाको सबैखाले प्रस्ताव अस्वीकार गरेको थियो । अन्तिमपटक बार्सिलोना र पिएसजीबीच ३ जना खेलाडी र १५० मिलियन युरोमा सहमति गर्न प्रयास भए पनि अन्ततः बार्सिलोनाले पिएसजीका सो प्रस्ताव अस्वीकार गरेपछि नेयमार पीएसजीमै रहने भएका हुन ।

बार्सिलोनाले नेइमारलाई पुनः क्लब भित्र्याउनका लागि ९३ मिलियन पाउण्ड र फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियो । पिएसजीले भने नेइमारका लागि बार्सिलोनासँग ९३ मिलियन पाउण्डसँगै फिलिप कोन्टिन्हो, रेकिटिक र पोर्चुगिज राइट–ब्याक नेल्सन सेमेडो मागेको थियो । नेयमारलाई भित्र्याउनको लागि म्याड्रिडले ३ खेलाडी र १११ मिलियन अमेरिकी डलरको प्रस्तावलाई गरेको थियो । उक्त प्रस्ताव पनि पीएसजीले अस्वीकार गरेको थियो ।

रियालले नेयमारलाई अनुबन्ध गर्नको लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको थियो । अब नेयमार टोलीमा फर्कने भएका छन् । प्रशिक्षक थोमस टुचेलले नेयमारको स्थिति प्रष्ट नहुँदासम्म उनलाई टोलीमा आबद्ध नगर्ने भन्दै खेलमा समावेश गरेका छैनन् ।

नेइमार आइतबार अन्तर्राष्ट्रिय ड्युटीका लागि ब्राजिलको टोलीमा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय खेलबाट फर्किएपछि नेयमार नियमित रुपमा पहिलो टोलीसंग प्रशिक्षण र खेल खेल्नेछन् । यद्यपि च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा भने नेयमारले रियल म्याड्रिडविरुद्ध खेल्न पाउने छैनन् ।

प्रतिक्रिया