अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

यमनमा भिषण हवाई हमला, कम्तीमा ५० बन्दीहरु मारिए

बिआरटीनेपाल २०७६ भदौ १५ गते ८:१२ मा प्रकाशित

यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । मन्त्रालयले घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको जनाएको छ ।

घाइतेहरुको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यहीबीच, हुथी समूहद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले धमार प्रान्तस्थित सामुदायिक कलेज परिसरभित्र रहेको युद्ध बन्दीगृहको विभत्स दृश्य प्रशारण गरेको थियो । यो स्थानमा अन्तर्राष्ट्रिय रेडक्रसका पदाधिकारीले पनि बेलाबखत भ्रमण गरिसकेका थिए । रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहका बारेमा रेडक्रस र साउदी गठबन्धन दुबैलाई राम्रोसँग थाहा थियो ।

हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झण्डै १७० जना सैनिकहरु केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो । साउदी गठबन्धनले भने धमारमा हुथी समूहका केन्द्रहरुलाई लक्षित गरी हवाई कारबाही गरिएको दाबी गरेको छ । साउदीले हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरुमा आक्रमण गरेको बताएको छ ।

धमार राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको छ । धमार र साना सहित उत्तरी प्रान्तहरुमा हुथी विद्रोहीले सन् २०१४ देखि नियन्त्रण कायम गरेका छन् । यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडी र उहाँको सरकारलाई सानाबाट हुथी विद्रोहीहरुले विस्थापित गरेका छन् । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू