अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

साफ यु–१५ – नेपाल उपाधिका लागि भारतसँग भिड्दै

बिआरटीनेपाल २०७६ भदौ १४ गते ०:४९ मा प्रकाशित

पाँचौ संस्करणको साफ यु–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै छ। खेल भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुने छ। पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह चरणमा भारतबाहेक अन्य सबै तीन टिमलाई पराजित गर्दै फाइनलमा पुगेको हो। अघिल्ला दुई संस्करणमा नेपाल भारतसँगै स्तब्ध भएको थियो। त्यसैले यो पटक पनि भारत तगारोको रुपमा उभिएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्ने रणनीतिका साथ मैदान उत्रने दाबी गरेका छन्। ‘हामीले सुरुवातबाहेक खेलमा निकै सुधार गरेका छौं‚’ उहाँले भन्नुभयो‚ ‘त्यसो त भारत सधैंको बलियो टिम भएकाले ऊविरुद्धको प्रदर्शनमा हामीले संयमतापूर्वक खेल्नुपर्छ। त्यसका लागि खेलाडी तयार छन्।’

भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो। उसले नेपालविरुद्ध समूह चरणमा ५–० को जित निकालेको थियो। त्यसैले पनि सोही नतिजाको निरन्तरता दिने प्रतीक्षामा भारत रहेको छ। तर‚ नेपाल भने भारतको बलियो पक्षलाई निस्तेज पार्दै उपाधि जित्ने ध्यानमा हुनेछ। नेपालले प्रतियोगितामा भएको दोस्रो खेलमा श्रीलंकालाई २–०, बंगलादेशलाई ४–१ र अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

भारत पुनः एकपटक उपाधि जित्दै उमेर समूहको दबदबामा फर्कन प्रयासरत छ। अघिल्लो संस्करणमा तेस्रो भएकाले पनि उसका लागि यो पटक पुरानो विरासतलाई कायम राख्नु मुख्य चुनौतीका रुपमा रहेको छ। यसअघि भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा दुवै पटक नेपाललाई फाइनलमा हराएको थियो। यद्यपि‚ अघिल्लो पटक भने नेपाल चौंथो रह्यो। पाकिस्तान र बंगलादेशले फाइनल खेलेका थिए, जहाँ बंगलादेशले बाजी मारेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू