अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:२६ मा प्रकाशित

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुनको मूल्यमा ९०० ले गिरावट आई प्रतितोला ७२ हजार ६०० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । उक्त मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटे पनि चाँदीको मूल्य भने यथावत छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

गत साउनको सुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महिनामा सुनको मूल्य प्रतितोला ७ हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो । भदौ लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावाल र तेजाबी सुन प्रतितोला २ हजार ५०० ले वृद्धि भएको छ । तीव्र वृद्धिका बीचमा सुनको मूल्य मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ कारोवार भएको थियो । पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । विश्व बजारमा मंगलबार सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । सोमबार सुनको मूल्य प्रतिऔँस १ हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू