अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार शुरु, स्वास्थ्य अवस्था सामान्य

बिआरटीनेपाल २०७६ भदौ ८ गते १०:०६ मा प्रकाशित

सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुरु भएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिनुभएको छ । उहाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे सिंहले केहीपनि खुलाउनुभएको छैन । प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।

मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर जानुभएको थियो । उहाँको त्यहाँस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उहाँको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू