अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

बंगलादेशको शरणार्थी शिविरमा दुई लाख रोहिंग्याको र्याली

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:५४ मा प्रकाशित

म्यानमारबाट बिस्थापित भएका रोहिंग्या शरणार्थीहरुले बंगलादेशस्थित शिविरमा वृहत र्याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्यालीमा सहभागी भएको जनाईएको छ ।

सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिंग्या विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् । र्यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रोहिंग्या जिन्दावाद भनेर नारा लगाएका थिए ।

अहिले रोहिंग्या बसिरहेको बंगलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन् । विस्थापित भएका रोहिंग्याहरुलाई बंगलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन ।

शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरुले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरुले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू