अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

ओली- प्रचण्डलाई डा. बाबुराम भट्टराईको प्रश्न–टिकापुर आन्दोलन कसरी गैरराजनीतिक भयो ?

बिआरटीनेपाल २०७६ भदौ ७ गते ९:२१ मा प्रकाशित

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भटराईले प्रधानमन्त्री केपी ओलीलाई थारुहरुले टीकापुरमा गरेको आन्दोलन कसरी गैरराजनीतिक भयो भनेर प्रश्न गर्नुभएको छ । शनिबार कैलालीको टिकापुरमा आयोजित थारुवान–थारुहट संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले थारुले आन्दोलन गर्दा हिंसात्मक भयो भनेर आन्दोलनकारीलाई जेल हालेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई झापाको आन्दोलनको यथार्थ भन्न आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले टीकापुर आन्दोलन गैरराजनीतिक हुँदा झापाको आन्दोलन कसरी राजनीतिक भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयो ।

‘२०७२ भदौ ७ गते थारुहरुले आफ्ना माग राख्ने क्रममा टीकापुरमा हिंसात्मक दुःखद घटना भयो’, उहाँले भन्नुभयो– ‘त्यसलाई हिंसाको रुपमा व्याख्या गरेर आन्दोलनलाई सिध्याउने काम भयो, अनि तपाईले झापामा मच्चाएको हिंसालाई चाहिँ कसरी राजनीतिक भनेर व्याख्या गरेको?’ भट्टराईले टीकापुर घटना दुखद भए पनि थारुले उठाएका मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले सोही प्रश्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई पनि तेस्र्याउनुभएको थियो ।

“प्रचण्ड र गृहमन्त्री थापाजी, १० वर्षे जनआन्दोलन पनि हिंसात्मक हो?” उहाँले थप्नुभयो, ‘हैन भने १० वर्षे जनयुद्धमा १७ हजार नागरिक मारिँदा पनि त्यसलाई राजनीतिक ठान्ने प्रचण्ड र बादलले किन टीकापुर घटनालाई गैरराजनीतिक भनेर रेशमलाई जेल हालेको हो, त्यसको उत्तर दिनुपर्छ।’ १० वर्षे जनयुद्धमा आफू पनि संलग्न रहेको उल्लेख गर्दै भट्टराईले आफु माथि लागेका आरोपको सजायको भागेदार बन्न तयार रहेको तर के प्रचण्ड र गृहमन्त्रीमाथि लागेको आरोप अनुसार उनीहरु पनि सजाय भोग्न तयार छन् त?’ भनी प्रश्न गर्नुभयो । प्रचण्ड र बादलमाथि लागेका आरोपलाई भने राजनीतिक भनेर ढाकछोप गरिँदै आएको उहाको भनाई थियो ।

भट्टराईले टीकापुरमा भएको आन्दोलन र त्यसपछि भएको हिंसाको जिम्मेवारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिनुपर्ने पनि बताउनुभयो । ‘तत्कालिन अवस्थामा तराईलाई थारुवान राज्य बनाउन आफूहरुले प्रस्ताव गर्दा शेरबहादुर देउवाले तराईको जमिनबाट रौँ को रेख जमिन पनि अन्यत्र जाँदैन भन्ने अभिव्यक्ति दिउको उल्लेख गर्दै उहाँले देउवाको सोही अभिव्यक्तिले टीकापुरमा भयानक दुर्घटना घटेको र त्यसैले सजाय थारुलाई नभई देउवालाई दिनुपर्ने बताउनुभयो ।

यसैवीच, भट्टराईले टिकापुरमा सद्भावना फैलाउने काम राज्यको भएको बताउँदै थारुहरुलाई अधिकारका लागि आन्दोलन चर्काउन उत्प्रेरित गराउनुभएको छ । टिकापुरमा थारुहरुले सद्भावको नारा लिएर राष्ट्रिय अधिवेशन गरेकोमा पनि विमति जनाउनुभयो । सद्भावको नारा आन्दोलनकारीले फैलाउने नभई राज्यले वातावरण तयार गर्नुपर्छ’, भट्टराईले भन्नुभयो, ‘सद्भावको नारा बाँडेर आन्दोलन सफल हुँदैन, त्यसका लागि फेरि पनि आन्दोलन चर्काउन आवश्यक छ।’ नेता भट्टराईले थारु मधेसी, आदिवासी जनजातिलाई संविधान बाहिर राखेर बनाइएको संविधान आधा गिलासको पानी जस्तै भएको उल्लेख गर्नुभयो ।
पत्रकार किशोर नेपालले हत्या अभियोगमा जेल जीवन बिताईरहेका रेशम चौधरीलाई न्याय नमिलेसम्म शान्ति स्थापना हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष माग्रेन छन्त्यालले आदिवासी जनजाति तथा थारुहरुको आन्दोलन अब झनै चर्किने उद्घोष गर्नुभयो । लेखक खगेन्द्र संग्रौलाले थारुहरुले न्याय पाउनु पर्ने धारण व्यक्त गर्नुभयो । कार्यक्रममा राजपा नेपाल अध्यक्ष मण्डलका नेता लक्ष्मण लाल कर्ण, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, थारु अगुवा लक्ष्मण चौधरी लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू