अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

विचार, संगठन र नेतृत्वका विषयमा विशेष ध्यान दिइन्छ – उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:३८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्कुल विभाग प्रमुख एवं कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको संस्थागत निर्णयलाई आधार मान्दै विभागको काम अघि बढाउने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा स्कुल विभागको कार्यभार सम्हाल्दै उहाँले दुई पार्टी एक भइसकेको अवस्थामा पार्टीको विचार महत्वपूर्ण हुने भएकाले विभागले वृहत् छलफल चलाउने बताउनुभयो ।

विचार, संगठन र नेतृत्वका विषयमा विभागले विशेष ध्यान दिने स्पस्ट पार्दै नेता पोखरेलले पार्टीभित्र देखिएको दुईओटा ‘स्कुलिङ’लाई पनि समाहित गराएर अघि बढ्ने उल्लेख गर्नुभयो । यसअघि, एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहनुभएको थियो ।

तत्कालीन प्रमुख प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेकाले तत्कालीन उपप्रमुख शंकर पोखरेलले विभागको नेतृत्व सचिवालय सदस्य पोखरेललाई शनिबार हस्तान्तरण गर्नुभएको हो । पार्टी एकीकरणपछि हालै स्कुल विभागको नेतृत्व पोखरेलले पाउनुभएको छ भने उपप्रमुखमा देवेन्द्र पौडेल रहनुभएको छ । पोखरेल ‘जबज’को वकालतकर्ता भएको भन्दै तत्कालीन माओवादी केन्द्र पक्षले स्कुल विभागमा पोखरेलको नाम अस्वीकार गर्दा नेकपामा विभाग टुंगो लगाउन नै लामो समय लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू