अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०१ मा प्रकाशित

श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिवादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले संकटकालको घोषणा गरेको थियो ।

त्यस आक्रमणमा परी २५८ जनाको मृत्यु भएको थियो । सो आतंककारी हमलापछि श्रीलंकाको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुस भएको थियो । गत अप्रिल २१ मा श्रीलंकाका तीनओटा होटल र तीनओटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति सिरिसेनाको कार्यालयले संकटकालीन अवस्था हटाइएको जानकारी गराएको हो । उक्त संकटकालीन अवस्थाको समय बिहीबार सकिएको भएपनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको उक्त कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । श्रीलंकाका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ संकटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए ।

श्रीलंकामा संकटकालीन अवस्था कायम रहँदा पर्यटन व्यवसाय पनि संकटमा परिरहेको भन्दै राज्य व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन पर्यटनमन्त्री तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्दै आएका थिए । उक्त आतंककारी आक्रमणमा सहभागीहरुलाई पक्राउ गर्नका लागि कोलम्बो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । तर, ती आक्रमणमा संलग्नहरु मारिएका या पक्राउ परिसकेका प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लिने जिहादीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू