अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यङ्ग्य महोत्सव भव्यताका साथ सम्पन्न

विजय थापा २०७६ भदौ ४ गते १०:५८ मा प्रकाशित

न्यु योर्क। गत अगस्त १७ शनिवारका दिन विश्व कै सम्राट् राज्य न्युयोर्कमा पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा हास्यव्यङ्ग्य महोत्सव ऐतिहासिक रूपमा सम्पन्न भएको छ । अमेरिकाको न्यु योर्क तथा छिमेकी राज्यमा रहेका कलाकारहरूद्वारा प्रस्तुत गरिएको उक्त महोत्सव नेपाली समुदायको खचाखच भिड रहेको थियो । 

पहिलो पटक र फरक शैलीको कार्यक्रम भएको कारण दर्शकहरूको उत्सुकता बढेको कारण कार्यक्रम हुनु भन्दा २ साता अघि नै टिकट बिक्री सकिएको थियो ।तोकिएको समयमा सुरु हुने र तोकिएकै समयमा समापन गरिने अभियानको रूपमा आयोजना गरिएको गाईजात्रा महोत्सवको उक्त अभियान सफल रहेको, र कार्यक्रममा मनोरञ्जनको साथसाथै सचेतनामूलक प्रस्तुतिहरू रहेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा प्यारोडी गीतमा कलाकारहरू विमल डाँगी; न्हुच्छे डङ्गोल; अभय ढुङ्गेल; सङ्गीता मुखिया छोचूँ; राम श्रेष्ठ; पूजा न्यौपाने; अर्जुन दाहाल; केशव दाहालको प्रस्तुति रहेको अद्वितीय रहेको थियो ।

यसै गरी अमेरिकी प्रवासमा साना छोराछोरीलाई शिशुपालिका (बेबी सिटर)को भरमा छोडेर नेता बन्न हिँड्ने आमाबाबुलाई व्यङ्ग्य गर्दै बालकलाकारहरु श्री नीति रिजाल; सलज रिजाल; र अष्टिन आचार्यले रोचक शैलीमा र्याप नृत्य प्रस्तुत गर्दा दर्शकहरूले निकै स्वाद मानेका थिए ।

यस्तै गरी अर्को प्रस्तुतिमा सञ्चारकर्मी सच्ची मैनाली र नुन चिनी पानी अमेरिकाका अर्जुन दाहालको पत्रकार र पत्रकार बिचको फरक कुराकानीलाई दर्शकहरूले खुब रुचाएका थिए ।

यसै गरी वसन्त डान्स सेन्टर न्यूयोर्कका सञ्चालक एवं नृत्य निर्देशक विजय नकर्मीले ससाना नानीहरूलाई समेटेर तयार गरेको “घिन्ताघिसी ट्याड०” नेवारी नृत्य निकै आकर्षक रहेको थियो । उक्त नृत्य भक्तपुरमा गाईजात्राको दिन सडकमा गाईजात्रा सँगै प्रस्तुत गरिने प्रसिद्ध नृत्य हो ।

कार्यक्रमको अन्ततिर प्रस्तुत नदिया लिबाड० र सङ्गीता उप्रेतीको प्रहसन “राज-नीति” ले दर्शकहरूलाई हसाउदा हसाउदै रुवाएको थियो भने उनीहरूको भाव पूर्ण अभिनय एवं संवादले दर्शकहरूको शरीरमा काँडा उमारिदिएको थियो । दर्शकहरूले उक्त प्रहसनलाई खुब मन पराएकोले सामाजिक सञ्जालमा यसै प्रहसन र अभिनयको चर्चा भई रहेको छ ।

टुटुल्को डटकमको परिकल्पना र आयोजनामा अमेरिकामा पहिलो पटक आयोजना भएको गाईजात्रा हास्यव्यङ्ग्य महोत्सव अमेरिका २०१९ लाई समुदायको साथ सद्भाव र समर्थन रहेको पाइयो ।

न्यूयोर्कको नर्दर्न ब्लुभार्ड स्थित क्विन्स पब्लिक लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रम टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ; सम्प्रेषणका निर्माता प्रस्तोता सञ्चारकर्मी शैलेश श्रेष्ठ; र ईनेप्लिज डटकमका आवासीय सम्पादक सच्ची मैनालीले उद्घोष ण एवं सञ्चालन गरेका थिए ।

समाजका विकृति विसङ्गतिहरूलाई व्यंगात्मक रूपमा प्रस्तुत गर्ने उद्धेश्यले विक्रम सर्बत २०४० सालमा नेपालको धरानमा स्थापित टुटुल्को मासिक विगत चार वर्ष देखि अनलाइनबाट सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया