अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

पत्रकार रवि लामिछाने सहित तीनैजनालाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:३२ मा प्रकाशित

टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ । बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो । मंगलबारमात्रै बयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको बहसपछि पोष्टमार्टम, ल्याब रिपोर्ट र डोरीको विषयमा थप अनुसन्धान गर्ने भन्दै अदालतले पाँच दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले सो निर्णय गरेको हो ।

सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नुभएको थियो । सो को विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता शुनिल कुमार पोख्रेल, चुडामणी सापकोटा, अस्मिता कार्किका तर्फबाट अधिवक्ता नारायण गिरीले बहस गर्नुभएको थियो । बहसका क्रममा उनीहरुले लामिछानेसहित अन्य आरोपितहरु निर्दोष रहेको भन्दै रिहाइका लागि माग गरेका थिए ।

यसअघि गत शुक्रबार अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको थियो । प्रहरीले सोही दिन लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका उनीहरु पक्राउ परेका थिए । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै तीनजनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू