अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

नेकपामा माधव नेपालको ’नोट अफ डिसेन्ट’– ओलीले विधि विधान पन्छ्याउँदै स्वैच्छिक निर्णय लिने गरेको आरोप

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले अध्यक्ष आफ्नो नियम र विधान भन्दा स्वैच्छिक हिसाबले चल्न थालेको भन्दै विगत केही समययता भएका निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ दर्ता गर्नुभएको छ । मंगलबार निर्धाति सचिवालय बैठकमा नेपालले आफ्नो ‘नोट अफ डिसेन्ट’ दर्ता गरेपछि त्यसमाथि छलफल हुनुपर्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको सूचना सचिवालय सदस्यहरुबीच जारी गर्नुभएको थियो ।

हालै पार्टीको दोस्रोबाट तेस्रो वरियतामा धकेलिएका नेता नेपालले दर्ता गरेको सात बुँदे नोट अफ डिसेन्टमा स्थानीय निकायदेखि संघीयतासम्म पार्टी कमिटी सदस्य चयनमा पार्टी निर्णयभन्दा ‘अमूक व्यक्ति’ को बहालीलाई प्राथमिकता दिएको, पोलिटव्यूरो गठनमा अनावश्यक ढिलाई गरेको उल्लेख गरिएको छ । यी प्रकरणमा पार्टी अध्यक्षले प्रक्रिया मिचेर आफू निकटका लागि जिम्मा दिने कोशिस गरेको उहाको आरोप छ । पार्टीमा अब नेपालको स्थान अध्यक्षद्वय र खनालपछि चौथो बनेको छ ।

तर नेता नेपालले अध्यक्ष ओली या प्रचण्डको नाम उल्लेख गर्नुभएको छैन । नेपालले तत्कालिन एमालेमा उपाध्यक्षको हैसियतमा रहेका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि नेकपाको उपाध्यक्ष बनाउनु पर्ने माग गर्नुभएको छ ।

ओलीले पछिल्लो सचिवालय बैठकबाट आफ्नो कित्तामा ल्याउन उहाँसंग असन्तुष्ट रहँदै आएका नेता बामदेव गौतमलाई विधान विपरित उपाध्यक्ष पद सिर्जना गरी त्यसमा ल्याउने निर्णय गराउनुभएको थियो । सम्पूर्ण पार्टी एकता प्रकृयालाई एकै पटक टुंग्याउनु पर्नेमा आफ्नो र गुटको स्वार्थमा प्रक्रियामा ढिलाई गरिएको आरोप नेता नेपालले लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू