अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

गृहकार्यको अभावमा नेकपा सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तयारी नपुगेको भन्दै रोकिएको छ । मंगलबार दिउँसो तीन बजे बस्ने भनिएको बैठक सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेपछि रोकिएको हो । प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको बताएपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि ११ बजे बस्नेछ ।

सचिवालय बैठक रोकिएसँगै नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट निस्किनुभएको थियो भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यसँग कुराकानी गर्नुभएको थियो ।

दुई अध्यक्षले आजको बैठकमा पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो । बरिष्ठ नेता माधवकुमार नेपालले भने आज लिखित रूपमा फरक मत दर्ता गर्नुभएको छ । नेकपाको आइतबारको बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका नेपाललाई चौथोमा झारेर चौंथो वरीयताका खनाललाई तेस्रोमा उकाल्ने निर्णय गरेको थियो ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्णय पढेर सुनाएपछि नेपालले आफू अपमानित भएको प्रतिक्रिया बैठकमै दिनुभएको थियो । नेता नेपालले सो बैठकमा जनवर्गीय संगठनका ईन्चार्ज र सहईन्चार्ज तोक्ने निर्णयमा पनि असहमति जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू