अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ होइन, सगरमाथा नै भन्नोस् – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनको विकासका लागि उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण रहेकाले उड्डयन क्षेत्रको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

उहाँले नेपाल उड्डयन क्षेत्रको सुधारका लागि ‘आइकाओ’सँग मिलेर काम गर्न तयार रहेको स्पस्ट पार्नुभयो । आइकाओको नियम मान्नु कुनै बाध्यता पनि नभइ आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । सो अवसमा प्रधानमन्त्री ओलीले नेपालले पर्यटकको आवागमनमा वृद्धि गर्न ‘बुटिक एअरपोर्ट’को विकास पनि गरिरहेको उल्लेख गर्नुभयो । सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभइ सगरमाथा नै भएको र नेपालीको पहिचान पनि भएकाले सगरमाथा नै भन्न उहाको आग्रह थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले खुला आकाश नीति लिएको र सोहीअनुसार विभिन्न देशहरुसँग जोडिन चाहेको बताउनुभयो । नेपालले विमानस्थलको सुरक्षा र सुधारका लागि पूर्वाधारको विकासमा ध्यान दिइरहेको उहाँको भनाइ थियो । आइकाओको निर्देशन र सल्लाहअनुसार नै काम गरिरहेको र सुरक्षामा पनि ध्यान दिने पर्यटनमन्त्री भट्टराईले स्पस्ट पार्नुभएको छ ।

कार्यक्रममा आइकाओका प्रमुख ओलुमुइवा बर्नाड एल्युले हवाई सेवाको सुरक्षाको नीति सबै देशहरुले मान्नैपर्ने बताउनुभयो । आर्थिक विकासका लागि हवाई सुरक्षालाई मजबुत् बनाउनुपर्नेे उहाँको भनाइ छ । सम्मेलन आउँदो शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा विभिन्न ४४ देशका ३५० बढी प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू