अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

ओली सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने, कार्यबिभाजनप्रति रुष्ट नेता नेपालले लिखित असहमति पेस गर्दै

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:३८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो कार्यविभाजनले विवादको वीजारोपण गरेको छ । आइतबार राति बालुवाटारमा बसेको बैठकले वरीयता हेरफेर, विशेष जिल्ला कमिटी गठनदेखि जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्ज तोक्ने काम गरेको थियो ।

कार्यविभाजन र वरीयता हेरफेरमा ‘किनाराकृत’ गर्न खोजिएको भन्दै बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लिखित असहमति दर्ज गर्ने तयारी गरेको स्रोतको दाबी छ । नेता नेपालले विधानअनुसार ‘एक व्यक्ति एक पद’ लागु गरिनुपर्ने, तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा जितेर आएका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलाई सोही भूमिकाका साथ सचिवालयमा ल्याइनुपर्ने, एउटा उपमहासचिवलाई महासचिवमा पदोन्नति गर्दा अर्का उपमहासचिव घनश्याम भुसाललाई बाहिर राखिन नहुनेलगायतका विषय समेटेर लिखित असहमति पेस गर्न लागेको स्रोतको भनाई छ ।

युवा, मजदुर, विद्यार्थी, महिलालगायत ६ जनवर्गीय संगठन (जवस)को इन्चार्ज, सहइन्चार्ज नियुक्तिप्रति पनि नेपालको विमति छ । ती जवसमा ओलीले एकलौटी गरेको नेपाल पक्ष नेताको भनाइ छ । आइतबारको बैठकमा चौथो वरीयताका नेता झलनाथ खनाललाई तेस्रोमा बढुवा गर्ने एजेण्डा प्रस्तुत गरेलगत्तै नेपालले ओलीलाई ‘षड्यन्त्र गरेको’ आरोप लगाउनुभएको छ ।
नेपाल पक्षको दाबीअनुसार ओली यही भदौ पाँच गते बिहीबार उपचारका लागि पुनः सिंगापुर जाँदैहुनुहुन्छ । त्यसबाट फर्किएलगत्तै प्रचण्डलाई एकल अध्यक्ष सुम्पने तयारी गरेको स्रोतको भनाइ छ । १३ महिनापछि ओलीले सहमतिअनुसार सरकारको नेतृत्व पनि हस्तान्तरण गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू