अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

अजय सुमार्गीको कम्पनी नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:३३ मा प्रकाशित

व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज भएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । स्याटेलाईटले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको हो । प्राधिकरणले गत चैतमा बक्यौता बाँकी रहेको दुरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।

असार मसान्तसम्म बक्यौता नबुझाउनेलाई प्राधिकरणले १० दिने म्याद दिएर स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले साउन ६ गते नेपाल स्याटेलाइटलाई अनुमति पत्र किन खारेज नगर्ने भनेर स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ दिंदै नेपाल स्याटेलाइटले काठमाडौंमा सेवा विस्तारको अनुमति दिए मात्रै बक्यौता तिर्ने शर्त तेस्र्याएको थियो ।

साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिना भित्र बाँकी रकम तिर्न म्याद दिएको थियो । अन्तिम पटक तोकिएको म्यादमा पनि रकम बुझाउन नसकेपछि अनुमति पत्र खारेज भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू