अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

सरकारले प्रजातन्त्र सिध्याउनै लाग्यो – सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्र सिध्याउन लागेको बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा रुपन्देहीमा सोमबार आयोजिते प्रदेश ५ स्तरीय महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले प्रजातान्त्रिक मर्मबिपरित काम भएको बताउँदै यसका निम्ति लड्न तयार हुनुपर्ने बताउनुभयो । मानवअधिकार, मिडिया काउन्सिल लगायतका विधेयकहरू ल्याइनु प्रजातन्त्रविरोधी गतिविधि भएको सभापति देउवाको भनाई थियो ।

पत्रकारिता र मानव अधिकार जस्ता कुरा स्वतन्त्र हुनु पर्ने आबश्यकतामा जोड दिंदै उहाँले सरकारले विधेयक ल्याएर पत्रकारिता र मानव अधिकार आयोगको स्वतन्त्रता हनन गर्न खोजेको ठहर गर्नुभयो । देउवाले चुनावमा पार्टीलाई अन्तरघात गर्नेलाई कारबाही नगरे पार्टी बलियो नहुने दाबी समेत गर्नुभएको छ । देउवाले भोट नै राजनीति भएको बताउँदै जसरी भए पनि जनताको मनजितेर भोट ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि कांग्रेस जनतामाझ पुग्नुपर्ने उहाको भनाई थियो ।

कांग्रेस पार्टी समावेशी भएको बताउँदै देउवाले हरेकले महिला, दलित, थारू, जनजातिलगायत सबैले आफ्नो आरक्षण बराबरको भोट सुरक्षित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नेपाली जनतामा निराशा छाएको बताउँदै निराशा अन्त्य गर्न नेपाली कांग्रेस पार्टी अघि बढाउनुपर्ने बताउनुभयो । पौडेलले राजनीतिक दलका नेताहरुको चरित्र र कार्यकर्ताले जनताप्रति गर्ने व्यवहार राम्रो हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा उपसभापति विमलेन्द्र निधि, उपसभापति बिजयकुमार गच्छदार, केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य बालकृष्ण खाँड, पुष्पा भुसाल लगायतले आउने चुनावमा कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दोहोर्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू