अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

विधुत प्राधिकरणलाई एक नम्बर संस्थान बनाउछौं: ऊर्जा मन्त्री

चालु आवमा साढे ८ अर्व नाफा कमाउने

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:५६ मा प्रकाशित

चालु आवमा साढे ८ अर्व नाफा कमाउने

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विधुत प्राधिकरणलाई सरकारी संस्थानहरूमध्ये एक नम्बरको बनाउनको घोषणा गरेका छन् । उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्व रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा पनि गरेका छन् । प्राधिकरणको ३४ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको उपलब्धि र गौरवको वर्ष भएको बताए ।

‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको छ’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले भने । ‘अधिकांश संस्थाहरू घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौँ ।’

तीन वर्षअघि ८ अर्व ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा प्राधिकरण ७ अर्व २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सञ्चित नोक्सानी करिब १५ अर्वमा झरेको छ ।
गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आव ०७४/७५ मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो ।

नियमित विधुत आपूर्ति हुन थालेपछि मूलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मूलकमा पर्याप्त विद्युत् उत्पादन भई भारत बङ्गलादेशसँग विद्युत् व्यापारका लागि सौदा बाजी गर्न सक्ने अवस्था पुग्ने बताए ।

मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहक मैत्री बन्न कर्मचारीलाई निर्देशन दिए । ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो बिजुली दिनु पर्छ’,उनले भने । ‘विगतमा उच्यालो दिन जुनौतिपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनु पर्ने चुनौती छ ।’

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु अव चुनौती पूर्ण रहेको बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ्ग स्टेसनहरू निर्माण गरी विधुतिय सवारी साधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विधुतको आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताए । ‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरण प्रति सबैको विश्वास अभिवृद्धि हुने र यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरू श्रृजना हुनेमा विश्वस्त छौँ’उनले भने । ‘आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’

कार्यक्रममा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने १५ कर्मचारी, कार्यालय लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू