अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

सगरमाथाको बेस क्याम्पभन्दा माथि हेलिकप्टर उडानमा रोक

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३९ मा प्रकाशित

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पभन्दा माथि हेलिकोप्टर उडानमा रोक लगाएको छ । पर्यटकहरु सिधै सगरमाथाको बेस क्याम्पभन्दा माथि जाने गरेपछि त्यसमा कडाई गरेको हो । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट पर्यटकहरू सिधै सगरमाथालगायतका हिमालको वरिपरि जाने गरेका थिए । सो कार्यलाई अब प्रतिबन्ध लगाउने भएको छ ।

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले यस्ता सुझाव दिएपछि त्यसलाई लागूगर्ने तयारी गरिएको छ । “आपतकालीन उद्दारभन्दा बाहेक कुनै पनि हेलिकप्टरले बेस क्याम्प भन्दामाथि उडान गर्न नपाउने व्यवस्था गर्ने”, प्रतिवेदनमा भनिएको छ ।

कुनै पनि हिमालको आधार शिविरमा एउटाभन्दा बढी हेलिप्याड समेत निर्माण नगरिने भएको छ । आधार शिविरमा हेलिप्याड बनाउँदा ‘टेक अफ’ र ‘ल्यान्ड’ गर्दा ‘क्याम्प साइट’लाई असर नपर्ने गरी ‘मेडिकल स्टेसन’ जस्तै ‘एचआरए इबिसी क्लिनिक’को नजिक हुने गरी निर्माण गर्ने प्रबन्ध गर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, सगरमाथा आरोहणका लागि पथ प्रदर्शक र उचाइका कामदार नेपाली मात्र हुन पाउने भएका छन् । उनीहरूले पनि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने, पर्वतारोहण सम्बन्धि ज्ञान भएको तथा तोकिएको संस्थाबाट पर्वतारोहण सम्बन्धी आधारभूत र उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

आठ हजार मिटरभन्दा माथिका हिमालमा मार्गनिर्देशन गर्ने पथ प्रर्दशकले नेपालभित्रको सात हजारभन्दा माथिको हिमाल आरोहण गरेको हुनुपर्ने छ । तर सगरमाथा आरोहीका पथ प्रदर्शकले नेपालभित्रको आठ हजार मिटरको हिमाल अनिवार्यरूपमा आरोहण गरेको हुनुपर्ने समितिले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू