अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड किन्ने कुरा गरेपछि डेनमार्कको कडा प्रतिक्रिया

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिम क्षेत्र ग्रीनल्यान्ड किन्ने सम्बन्धी कुरा उठाएको अनौठो खबर बाहिर आएपछि डेनमार्कले कडा प्रतिक्रिया जनाएको छ । संचार एजेन्सी रोयटर्ससँग बोल्दै डेनमार्ककका विदेश मन्त्री एन लोन बगेरले आफुहरु व्यापारका लागि सधैँ खुला रहेको तर बिक्रीका लागि तयार नरहेको बताउनुभएको छ ।

आगामी सेप्टेम्बरमा मात्र ट्रम्प डेनमार्कको राजधानी कोपेनहेगेन भ्रमणमा जानुहुनेछ जसमा उहाँले प्रधानमन्त्री मेट फ्रेडरिक्सन र ग्रीनल्यान्डका लिडर किम केइल्सनसँग आर्टिक क्षेत्रबारे पनि छलफल गर्ने बताइएको छ ।

तर बिहिबार ह्वाइटहाउसका दुई श्रोतले ट्रम्पले आफ्ना स्टाफसँग ग्रीनल्यान्डको भूभाग खरिद गर्नेबारे बारम्बार प्रस्ताव राखिरहेको बताएपछि सो खबर अहिले अत्याधिक चर्चामा आएको छ भने यसै विवादमा ट्रम्प हाँसोका पात्र बन्नुभएको छ । प्राकृतिक श्रोत र भौगोलिक महत्वका कारण पनि ग्रीनल्यान्डप्रति ट्रम्पले विशेष रुची राखेको बताइएको छ ।

तर ट्रम्प वास्तवमै अमेरिकी भूभाग विस्तार गर्ने कुरामा गम्भीर भएकाबारे स्पष्ट छैन । यता उहाँका सल्लाहकारले समेत सो कुरा ट्रम्पले ठट्टाका रुपमा भनेको भन्दै हास्यास्पद बताएको तर ह्वाइटहाउसका अन्य अधिकारीले चाहिँ गम्भीरतापूर्वक विचार गरिरहेको श्रोतले जनाएको छ ।

अर्कोतर्फ डेनमार्कका राजनीतिज्ञहरुले भने विश्वको सबैभन्दा ठूलो टापु खरिद गर्ने कुरा उठाएकाप्रति आश्चर्य व्यक्त गर्दै आलोचना गरेका छन् । डेनमार्कको स्वतन्त्र भूभागका रुपमा उत्तर एट्लान्टिक र आर्टिक समुद्रका बीचमा रहेको ग्रीनल्यान्ड डेनिस आर्थिक सहायतामा निर्भर छ । यसबारे डेनमार्कस्थित अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू