अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन आदेश

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:२१ मा प्रकाशित

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश गरेको हो ।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो।शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश सदर गर्दै उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिनुभएको थियो । गत साउन ५ गते विवादित चलचित्र निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उहाँलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराउनुभएको थियो । बहुबिवाहको अभियोगपछि शिल्पा र छविलाई पक्रन जिल्ला अदालतले आदेश दिएको थियो ।

सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश दिएको छ । दर्ता गर्ने क्रममा र सुनुवाइका क्रममा शिल्पा अदालतमा उपस्थित हुनुभएको थिएन ।

प्रतिक्रिया