अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउछु भन्ने नसोचे हुन्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिनुभएको हो । प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उहाँले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने स्पष्ट पार्नुभयो ।

प्रतिक्रियावादी शक्तिहरुलाई जिउँदै हुँदा ठेगान लगाईएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिले कतिपयले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको टिप्पणी गर्नुभयो । बेमौसमी बाजा बज्दैमा राजसंस्थावादीहरुलाई नहौसिन पनि प्रधानमन्त्रीले चेतावनी दिनुभयो ।

अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारको आलोचनाको नाममा प्रणाली उल्ट्याउने, प्रतिगमन गर्ने र संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन नसक्ने बताउनुभयो । केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उहाँले सबैलाई सचेत गराउनुभयो । ठुला ठुला चुनौतिको सामाना गरेर आएको पृष्ठभूमि वर्तमान सरकारको रहेको भन्दै प्रधानमन्त्रीले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिनुभयो ।

प्रधानमन्त्रीले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी समेत गर्नुभएको छ । लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । जनताको निरासा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फ पनि उहाँले सवैलाई सचेत गराउनुभएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू