अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शनसहित ढुंगामुढा, पाँच प्रहरी घाइते

बिआरटीनेपाल २०७६ साउन ३१ गते ८:३३ मा प्रकाशित

टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न भन्दै प्रदर्शनमा उत्रिएको समूहले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेको छ। शुक्रबार साँझ उक्त समूहले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा ५ जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीतर्फका घाइतेहरूको विवरण प्राप्त भएको छैन।

झडपका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास हानेको छ । उग्ररूपमा प्रस्तुत भएका प्रदर्शनकारीहरूले कार्यालयमा ढुङ्गामुडा गरेपछि अश्रुग्यास हान्नुपरेको जानकारी चितवन प्रहरीले दिएको छ । प्रदर्शनमा उत्रिएकामध्ये रवि लामिछानेका केही समर्थ जिप्रका अगाडि पाल टाँगेरै बस्न खोजेका थिए। शुक्रवार साँझसम्म पनि त्यो समूह त्यहाँबाट हट्न नखोजेपछि तनाव बढेको थियो।

रविको समर्थनको नाममा भरतपुरमा दिनभर प्रदर्शन भएको थियो । त्यसक्रममा प्रहरीले ५ जना भन्दा धेरैलाई पक्राउ गरेको थियो। यसैबीच जिल्ला अदालतले चितवनले रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको छ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले बिहीबारदेखि पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको हो। अदालतले साउन २१ गते चितवनमै मृतअवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू