अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बिआरटीनेपाल २०७६ साउन ३० गते ९:४५ मा प्रकाशित

वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । उहाँको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो ।

स्व. दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो । स्व. दीक्षित श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत आर्यघाट जानुभएको थियो । यसअघि, दीक्षितको शव श्रद्धाञ्जलिका लागि उहाँको निवास कालिकास्थानमा राखिएको थियो ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान लगिएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद – केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन पूर्वउपकुलपति समेत रहनुभएका दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू