अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

भारतले नेपाललाई सकेको दिन ‘सिक्किम’ बनाइदिन्छ – कांग्रेस नेता प्रदिप गिरि

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:३२ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्र्रािष्ट्रय सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा नेता गिरिले भारतले सकेका दिन नेपाललाई सिक्किम बनाइदिने ठहर गर्नुभयो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै उहाँले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरूङयुद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउनेमात्रै काम गरेको बताउनुभयो । विपक्षमा बस्दा कुनै दिन आफू सत्तामा पुग्दा गर्न नसक्ने कुरा सस्तो लोकप्रियताका लागि बोल्न नहुनेतर्फ नेता गिरिले सचेत गराउनुभयो ।

नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थलाई समयमै आत्मसात् गर्न र सतर्क रहन गिरिले सबैको ध्यानाकर्षण गराउनुभयो । ‘विपक्षमा रहेर कहिले पनि त्यस्ता मागलाई उठाउनु हुँदैन, जुन सत्तापक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कूटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो,’ गिरिले भन्नुभयो ।

छलफलमा नेकपाका सांसद भीम रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कूटनीतिक पहल गर्न परराष्ट्र र गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । नेपालको ६०६ वर्गकिलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको रावलको दावी थियो ।

नेपाल–भारत सीमा विवाद, अतिक्रमण तथा डुबानलगायत समस्याबारेको छलफलमा समिति सदस्यहरूले तत्काल कूटनीतिक पहल गरी डुबानलगायत समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू