अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

थुनुवा फरार प्रकरण– असईसहित तीन प्रहरी निलम्बित

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:५५ मा प्रकाशित

पछिल्लो समय काठमाडौंमै हिरासतबाट थुनुवा फरार हुने क्रम बढेपछि प्रहरीहरुलाई उत्तरदायी बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले कडा कदम चालेको छ। सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ ।

निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन्। समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ। समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐनअनुसार कारबाही हुने बताए। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका चार थुनुवामध्ये तीनजना पक्राउ परिसकेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ गरेका हुन्। डिएसपी बोगटीले फरार मदन तामाङको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू