अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

शून्य समयमा उठेका बिषयमा सरकार गम्भिर नभएको काँग्रेस सांसदको आरोप

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:५३ मा प्रकाशित

प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा उठेका विषयप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले शून्य र विशेष समयमा आफुहरुले दैनिकजसो राष्ट्रिय सरोकारका विषय उठान गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका हुन् । उनीहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र उपस्थित भई जानकारी गराउनु पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले शुक्रबार यात्रुबाहक बस त्रिशुली नदीमा खसेर ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद आशाकुमारी विकले ट्याक्सी चालकले नियमविपरित यात्रुसँग चर्को भाडा असुल गर्ने गरेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनपछि तराई तथा पहाडका केही जिल्लामा सिँचाइ सुविधामा अवरोध हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू