अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

नेपाल वायुसेवा निगमले आन्तरिक गन्तव्यमा सेवा विस्तार गर्दै, धमाधम परीक्षण उडान

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:३८ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो ।

भ्रमण वर्ष अभियानलाई सहयोग पुर्याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिनुभएको छ ।

सोहीअनुरूप निगमले आफ्नो सक्रियता बढाउँदै आन्तरिकतर्फ परीक्षण उडान शुरु गरिएको हो ।निगमले यही साउन १८ गते चौरजहारी र ताप्लेजुङमा परीक्षण उडान गरिएको थियो । त्यस्तै साउन १९ र २० गते रुकुम र भोजपुर तथा साउन २१ र २२ गते बाजुरा र तुम्लिङटार परीक्षण उडान गरेको थियो । यी गन्तव्यमा निगमका ‘वाई–१२ ई’ जहाजबाट परीक्षण उडान गरिएको सह–प्रवक्ता मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि सोमबार फाप्लु र २८ गते रुम्जाटार परीक्षण उडान गर्ने निगमको योजना रहेको छ ।

त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकिएको छ । वाई–१२ जहाजबाट क्याप्टेनद्वय आङ्नुरी शेर्पा र फिजोनाथ नेपाली र सह–चालक महेशराज पाण्डेले परीक्षण उडान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू