अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

जलवायु परिवर्तन रोक्न शाकाहारी खाना खाऔं– राष्ट्रसंघ विज्ञ टिम

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:१५ मा प्रकाशित

शाकाहारी खाद्य पदार्थको प्रयोगले जलवायु परिवर्तनविरुद्धको अभियानमा सहयोग गर्न सक्ने संयुक्त राष्ट्रसंघका विज्ञहरुले बताएका छन्। जमिनको प्रयोग तथा जलवायु परिवर्तन सम्बन्धी एक विस्तृत प्रतिवेदनमा पश्चिमा देशका नागरिकले मासु तथा दुग्धजन्य पदार्थको प्रयोग बढी गरेकाकारण परिवर्तन तथा विश्वव्यापी तापमान बृद्धिमा सहयोग पुगेको उल्लेख गरिएको छ ।

मासु तथा दुग्धजन्य पदार्थको प्रयोग कम गरी शाकाहारी खाद्यान्नमा जोड दिन सकेमा सकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। तर वैज्ञानिक तथा उच्च अधिकारीहरुले सबै मानिस या सम्पूर्ण रुपमा भिगन (दुग्धपदार्थ पनि नखाने शाकाहारी) वा साकाहारी बन्नु पर्छ भनेका छैनन्।

संयुक्त राष्टसंघ अन्तर्गतको इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) का लागि १०७ वैज्ञानिकले तयार पारेको प्रतिवेदनमा जमिनको प्रयोगमा ध्यान दिन सकेमा मानिसले उत्सर्जन गरेको बढी कार्बन जमिनले आफूमा समाहित गरेर राख्नसक्ने उल्लेख गरिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा भएको छलफलपछि वैज्ञानिकहरुले प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्।

सन् २०१९ इतिहासका तीन सबैभन्दा गर्मी वर्ष बन्ने देखिएको छ। प्रतिवेदनमा माटोको गुणस्तरमा भइरहेको क्षयीकरण तथा मरुभूमिकरण रोक्नका लागि तत्काल वृहत तथा प्रभावकारी प्रयास थालिनु पर्ने अपिल गरिएको छ। यी दुवै कारणले जलवायु परिवर्तनलाई सहयोग गरिरहेका छन्। केही देशहरुमा विद्युत उत्पादनका लागि रुख हुर्काउने र त्यसलाई काटेर जलाउने गरिएकोप्रति पनि प्रतिवेदनमा चासो व्यक्त गरिएको छ।

जलवायु परिवर्तनले खाद्य सुरक्षामा चुनौती थपिएको वैज्ञानिकले बताएका छन्। बढ्दै गएको तापक्रम, सघन वर्षा र पहिले भन्दा भिन्न खालको मौसमका कारण खाद्यबाली तथा पशुपक्षीमा असर गरिरहेकाले खाद्य सुरक्षा चुनौतीमा परेको हो। तर खाद्यान्न उत्पादनका लागि अपनाइएका नयाँ उपायहरुका कारण जलवायु परिवर्तनमा असर परेको छ। यस्तै मासु तथा दुग्धजन्यपदार्थ बढी उत्पादन गर्नुपर्दा वातावरणमा असर पर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू