अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

कश्मीरबारे संयुक्त राष्ट्रसंघ – मानव अधिकारको अवस्थामा चिन्ता

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:०८ मा प्रकाशित

जम्मु कश्मीर राज्यबारे भारत सरकारले चालेको पछिल्लो कदमप्रति संयुक्त राष्ट्रसंघले आफ्नो चासो व्यक्त गरेको छ । राष्ट्रसंघका प्रवक्ताले एक भिडियो सन्देश जारी गर्दै भारत नियन्त्रित कश्मीरमा मानव अधिकारको अवस्थाप्रति चिन्ता प्रकट गर्नुभएको छ । सञ्चार सेवा बन्द गरिएको, राजनीतिक दलका नेतालाई पक्राउ गरिएको, राजनीतिक भेलामाथि निषेध गरिएको जस्ता विषयप्रति राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको हो ।

भारतको केन्द्र सरकारले कश्मीरमा पछिल्लो कदम चाल्नुपूर्व गत आइतबारदेखि नै स्थानीय नेताहरु नजरबन्दमा राख्नुका साथै फोन र इन्टरनेट सेवासमेत बन्द गरिदिएको छ । सुरक्षाका लागि भन्दै ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रसंघका प्रवक्ताले कश्मीरको मानव अधिकारको अवस्थाबारे जुलाई ८, २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनमा सञ्चारमाथिको नियन्त्रण, राजनीतिक दलका नेतामाथि धरपकड, गैरन्यायिक हत्या लगायतका विषय स्मरण गराउनुभएको छ । राष्ट्रसंघले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको प्रष्ट पारेको छ । जम्मु कश्मिरका जनताको लोकतान्त्रिक अधिकारमाथि नियन्त्रण गरिएको र यो गम्भीर प्रकृतिको भएको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू