अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने – उर्जामन्त्री पुन

बिआरटीनेपाल २०७६ साउन २३ गते ९:५७ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उहाँले जानकारी गराउनुभएको हो ।

जुम्लामा विद्युत् आपूर्तिमा आएको समस्याबारे आफूहरूलाई जानकारी प्राप्त भएलगत्तै वैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दै मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणको मस्र्याङ्दी जलविद्युत् केन्द्रमा रहेको तीन सय केभिए क्षमताको डिजेल जेनेरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताउनुभयो । जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिनुभएको थियो ।

मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरूलाई राष्ट्रिय प्रशारण लाइनमा आबद्ध गर्ने योजना सरकारले अघि बढाएको बताउनुभयो । जुम्लामा ३३ केभिए प्रशारण लाइनका लागि यसै वर्ष दैलेख–जुम्ला ट्रान्समिसन लाइनका लागि टेण्डर भएर छनोट पनि भइसकेको भन्दै उनले दुई बर्षभित्र प्रशारण बनिसक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू