अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न नेकपालाई काँग्रेसको आग्रह

बिआरटीनेपाल २०७६ साउन २३ गते ९:४५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल छोड्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा कार्यालय राख्ने गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल पार्टी कार्यालय छोड्न नेकपालाई आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयम् सत्तारुढ दलले गम्भीरता नदेखाउनु आपत्तिजनक भएको बताउनुभयो । उहाँले क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन पनि नेकपालाई आग्रह गर्नुभयो ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनले नेपाली कांग्रेसले भ्रष्टहरूको संरक्षण गरेको आरोप लगाएपछि कांग्रेसले यस दृष्टिकोणमा दया बाहेक केही जनाउन नसकिने बताएको छ । आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको प्रतिवेदनले नेपाली कांग्रेसलाई दुश्मन मानेकोप्रति टिप्पणी गर्दै यसलाई नेकपाको दृष्टिदोष भनी टिप्पणी गर्नुभयो ।

शर्माले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशिता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू