अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

ईन्जाले संस्थाको नाम परिमार्जन सहित महत्त्वपूर्ण निर्णय गर्‍यो

विजय थापा २०७६ साउन २२ गते २२:०१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ(ईन्जा)ले आफ्नो प्रथम वार्षिकोत्सवमा महत्त्वपूर्ण १३ वटा निर्णयहरू गरेको छ । ईन्जाको प्रथम वार्षिक उत्सवमा व्यवस्थापन समितिको सिफारिसमा केन्द्रीय समितिले उक्त निर्णय गरेको हो ।

अगस्त २ ,२०१९ का दिन बसेको बैठकमा मुख्य संरक्षक ,विशेष संरक्षक ,सल्लाहकार,पदाधिकारीहरू,कार्यकारी समितिका सदस्यहरूको उपस्थितिमा शुभकामना आदान प्रदान ,समीक्षा ईन्जाले गरेका कार्यहरू,उपलब्धिहरू र अबका दिनमा गर्नु पर्ने कार्यहरूको बारेमा छलफल गरी १३ वटा निर्णय गरी पारित समेत गरेको छ ।

व्यवस्थापन समितिलाई धन्यवाद दिँदै बैठकमा सबै सहभागीहरूले ईन्जाका गतिविधिहरूमा सन्तुष्टि जाहेर गरी यसरी नै आगामी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिए ।

निर्णयहरू यस प्रकार छन् :
१. ईन्जाले संसारभर निर्माण गर्न खोजेको सञ्चारकर्मीहरूको नेटवर्क(सञ्जाल )को कामलाई अझ तीब्ररुपमा अगाडि बढाउने ।
२. संस्थाको उद्देश्य अनुरूप कार्य क्षेत्रलाई फराकिलो पारी सञ्चार (मिडिया) सम्बन्धी धेरै अन्तर्राष्ट्रिय संस्थाहरूसँग समेत सञ्जाल (नेटवर्क बढाउँदै) जाने सन्दर्भमा संस्थाको नाम परिवर्तन गर्न आवश्यक देखिएकाले संस्थाको नामलाई परिमार्जन गरी ‘ International Network for Nepali Journalists-INNJA, नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल – तय गरियो।
३. आगामी नोभेम्बरमा हेडक्वार्टर (सदरमुकाम )डिसीमा ईन्जा विशेष कार्यक्रमको आयोजना गरी ईन्जाका गतिविधिहरू, भावी कार्यक्रमहरू लगायत विश्व सञ्चार माध्यम (ग्लोबल मिडिया)विषयहरूमा बहस गर्नुका साथै ईन्जाको कोष अभिवृद्धि कार्यक्रम गर्ने निर्णय गरियो।

४. संस्थाको केन्द्रीय र महादेशीय सङ्गठनलाई चुस्त र दुरुस्त गराउन जिम्मेवारीको पुनरावलोकन गरी जिम्मेदारी हेरफेर समेत गर्ने निर्णय गरियो। यसका लागि पुनरावलोकन गरी सिफारिस गर्न प्रमुख संरक्षक रामचन्द्र खारेजको संयोजकत्वमा अध्यक्ष गुणराज लुइँटेल, वरिष्ठ उपाध्यक्ष द्वय सुनिल मणि दाहाल र विष्णु शीतल सहितको चार सदस्यीय समिति बनाइयो।

५. नेपाली सञ्चार जगतलाई सहयोग पुर्‍याउने उद्देश्यले वरिष्ठ पत्रकार सम्मान पुरस्कार र फ्रेण्डस अफ ईन्जा (ईन्जाका मित्रहरू )पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्ने ।

६. सञ्चारकर्मी तथा पत्रकारिताका विद्यार्थीहरूको पेसागत क्षमता अभिवृद्धि गर्न अमेरिकाका सञ्चार सम्बन्धी संस्था र विश्वबिद्यालयसंग सम्झौता गरी एक्सचेन्ज भिजिट ( आदानप्रदान भ्रमण ) कार्यक्रमका लागी पहल कार्य सुरु गर्ने ।

७. ईन्जाका सल्लाहकार हरि अधिकारीको संयोजकत्वमा अमेरिकी नेपाली डायस्पोराको समाज, सञ्चार, कला, संस्कृतिका साथै यहॉका सङ्घसंस्था,व्यक्ति ब्यक्त्तित्व र इतिहास व्यक्त गर्ने सबै खालका महत्त्वपूर्ण पक्षहरूको अध्ययन, अनुसन्धान, लेखन, सम्पादन र प्रकाशनको काम गर्ने । समान कार्यका लागी ईन्जा युरोप र ईन्जा अष्ट्रेलियाका संयोजकहरूसँग राय परामर्श माग गरी बिश्वब्यापीरूपमा विस्तार गर्ने।

८. अन्तर्राष्ट्रिय समाजमा छरिएका नेपाली सङ्घ संस्थाहरूमा मर्यादित पत्रकारिताको अभ्यासको लागि दबाब दिदी सकेसम्म समान उद्देश्य भएका संस्थाहरूको एकीकरण समेत हुनुपर्ने पक्षमा वकालत, पहल गर्नुको साथै डायस्पोरा(प्रवास)मा सञ्चालित सञ्चार माध्यमहरुको व्यवसायीकरणमा विशेष पहल गर्ने ।

९. अमेरिका भ्रमणमा रहनु भएका पत्रकार रवि धामीलाई स्वागत गर्नुको साथै नेपालमा ईन्जाको सङ्गठन विस्तारको लागि विशेष पहल र समन्वय गर्न अनुरोध र जिम्मेवारी दिने।

१०.पत्रकारिता अध्ययन गर्दै आएका तथा अवसरको खोजीमा रहेका विद्यार्थी पत्रकारहरूको समूह- फ्रेन्डस अफ ईन्जा (ईन्जाका साथीहरू ) गठनका साथै आवश्यक सहयोग पुर्‍याउन आवश्यक देखिएकोले सदर मुकाम (हेड क्वाटर)का वरिष्ठ उपाध्यक्षलाई नियमित रिपोर्ट (विवरण पेस) गर्ने गरी ‘फ्रेन्डस अफ ईन्जा लिड’ का रूपमा हाल सहयोग गर्दै आउनु भएकी वर्षा भुजेललाई चयन गरियो ।

११.सामुदायिक पत्रकारिताको हितका लागी सञ्चालित ईन्जा नेटवर्किङ (सञ्जाल)कार्यक्रमको नियमित सञ्चालन र व्यवस्थापनका लागि कार्यसमिति सदस्य दोबा ढकाल तथा फ्रेन्डस अफ ईन्जा प्रमुख वर्षा भुजेललाई जिम्मेवारी प्रदान गरियो।

१२) ईन्जाले यस अवधि(एक वर्ष भित्र )मा संस्था बाहिर कोही कसैसँग पनि चन्दा तथा सहयोग नलिएको र संस्थागत खर्चकालागी ईन्जा परिवार भित्रबाट नै सहयोग प्राप्त हुँदै आएको छ। आर्थिक पारदर्शिता र अनुशासनले संस्थाको गरिमा बढाउने भएकाले मर्यादित तथा प्रचलित नियम अनुसार चन्दा तथा सहयोग लिन तथा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न चन्दा सहयोग सम्बन्धी आर्थिक नीति निर्माणका लागी कोषाध्यक्ष शृजन ताम्राकारको संयोजकत्वमा कार्य समिति सदस्य द्वय तारा भट्टराई र दोबा ढकाल सहितको तिन सदस्यीय आर्थिक नीति तर्जुमा समिति गठन गरियो।

१३. आगामी दिनमा दोहोरो भूमिका हुने पद ग्रहण गरेमा ईन्जाका पदाधिकारीहरूले एक पदको नीति अवलम्बन गर्नु पर्ने सुझाव दिने निर्णय गरियो।

भौतिक बैठक तथा दूर सञ्चार प्रणाली (कन्फरेन्स तथा फिजिकल) रूपमा भएको बैठकमा १. मुख्य संरक्षक: रामचन्द्र खरेल २. विशेष संरक्षक: योगेश उपाध्याय ३. सल्लाहकार: हरि अधिकारी ४. अध्यक्ष: गुणराज लुइँटेल ५. वरिष्ठ उपाध्यक्ष (हेडक्वार्टर)- सुनिलमणि दाहाल ६. वरिष्ठ उपाध्यक्ष ( ग्लोबल)- विष्णु शीतल ७. महासचिव: शिव विष्ट ८. ग्लोबल सङ्गठन एवं विधान निर्देशक: किशोर सापकोटा ९. सञ्चार निर्देशक: विजय थापा १०. कोषाध्यक्ष: शृजन ताम्राकार ११. बोर्ड सदस्यहरू: उमेश शर्मा, दोब ढकाल, विश्व थापा, विष्णु शर्मा, टङ्क पन्त, सुनिल हुमागाई, तारा भट्टराई, केशर कार्की १२. अमेरिका फ्रेन्डस अफ ईन्जाकी प्रमुख: वर्षा भुजेल १३. डिसी नेपाल प्रतिनिधि: परशुराम भण्डारी, डिसी नेपालकै खेम भट्टचन, मूलधार न्युज सम्पादक रवि धामी र ब्रेक एण्ड लिङ्कका पद्धति निर्देशक (सिस्टम डाइरेक्ट) खेम भट्टराई को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू