अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

नेपाल वायुसेवा निगमलाई युरोपेली युनियनको कालो सुचीबाट हटाईने– पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:४४ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको कालोसूचीबाट नेपाली हवाईक्षेत्रलाई छिट्टै हटाउने बताउनुभएको छ । कालोसूचीबाट हटाउनका लागि परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्रालयमा बुधबार सञ्चारकर्मीमाझ उहाँले सरकारको पहलसँगै इयुको अनुगमन टोली नेपाल आउने जानकारी गराउनुभयो । त्यसपछि कालोसूची हट्ने मन्त्री भट्टराईले दाबी गर्नुभयो । नवनियुक्त मन्त्री भट्टराईले उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ योजना पनि सार्वजनिक गर्नुभएको छ । भट्टराईले देशभित्रै पाइलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको प्रष्ट पार्नुभयो ।

उहाँले ५० लाखभन्दा बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न उड्डयन विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको बताउनुभयो । त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायुसेवा कम्पनीहरुबाट जुटाउने योजना रहेको भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले वायुसेवा कम्पनीहरुलाई पनि पाइलट चाहिने भएकाले उनीहरुले विद्यालयमा लगानी गर्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालय स्थापनाको विस्तृत योजना केही दिन भित्रै ल्याइने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू