अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

कांग्रेसद्वारा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेसका सांसदले बुधबार क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेको हो । उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही रहनुभएको छ भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली स्नेही रहनुभएको छ ।

नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ । उक्त भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडीबुटी संकलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ । नेपालमा उत्पादित र संकलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै संकलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौँ नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू