अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

पाकिस्तानले कश्मीर मुद्दा ओआईसीमा पुर्याउने , विदेशमन्त्रीले लेखे राष्ट्रसंघका महासचिवलाई पत्र

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:४५ मा प्रकाशित

भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्त राज्यको अधिकार खोसेर केन्द्र शासित बनाउने निर्णय गरेसँगै पाकिस्तानले उक्त मुद्दा इस्लामिक सहयोग संगठन (ओआईसी) को बैठकमा पुर्याउने भएको छ।

बैठकमा नरेन्द्र मोदी सरकारले जम्मु–कश्मीरलाई केन्द्र शासित बनाउने घोषणा गरेपछिको उत्पन्न परिस्थितीबारे छलफल हुने बताइएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले उक्त बैठक मंगलबार साउदी अरेबियाको जेद्दामा हुने बताउनुभएको छ । फैजलले जम्मु–कश्मीरमा भएका निन्दनीय गैरकानुनी घटनाक्रमबारे बैठकमा छलफल हुने बताउनुभयो ।

ओआईसीको बैठकमा पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व पाकिस्तानका विदेश मन्त्री एसएम कुरेशीले गर्नुहुनेछ । यस्तै ओआईसीले विज्ञप्ती जारी गर्दै भारतको उक्त निणर्यको कडा शब्दमा निन्दा गरेको छ। साथै ओआइसीले ट्वीट गर्दै संयुक्त राष्ट्रसंघको प्रावधान अनुसार जम्मु–कश्मिर विवादको शान्तिपूर्ण समाधानका साथै स्वतन्त्र र निष्पक्ष छानविनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।

यसैबीच पाकिस्तानले संयुक्त राष्ट्रसंघका महासचिवलाई जम्मु–कश्मीरका पछिल्ला घटनाक्रमको बारेमा पत्र लेखेको छ। पाकिस्तान सरकारले ट्वीट गर्दै भनेको छ,‘विदेश मन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघका महासचिवलाई एउटा पत्र लेख्नुभएको छ , जसमा कश्मीरको पछिल्लो कठिन परिस्थितिबारे जानकारी गराइएको छ

यस्तै संयुक्त राष्ट्र संघले भारत र पाकिस्तानलाई संयम बन्न र शान्ति कायम गर्न आग्रह गरेको छ। महासचिव एन्टोनियो गुटेरसले सबै पक्षलाई संयम बन्न आग्रह गरेको उहाँका प्रवक्ताले बताएका छन्। भारतले हाल कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाह र मेहबुबा मुफ्ती लगायतका नेताहरुलाई हिरासतमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू