अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

बाबुराम भट्टराई प्रतिपक्षी सांसदसँग बसेपछि …

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:३२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईलाई संसदमा बस्ने उचित स्थान देखाइदिन माग गर्नुभएको छ । संसद बैठक चलिरहेका बेला मंगलबार पूर्वप्रधानमन्त्री डा. भट्टराई प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद राजेन्द्र महतोको छेउमा बसेपछि सांसद खतिवडाले सभामुख कृष्णबहादुर महरासँग उचित स्थान देखाइदिन माग गर्नुभएको हो ।

“मैले खाली सदनको नियमलाई ध्यानाकर्षण गराउन खोजेको हुँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यही नै सही हो या संसदले व्यवस्थापन ठिक नगरेको हो ? या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ?,” सभामुखसँग समय लिएर सांसद खतिवडाले भन्नुभयोे, “त्यसकारण म सभामुखज्यूलाई के अनुरोध गर्न चाहन्छु भने पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै ठाउँ देखाइदिन पनि अनुरोध गर्दछु ।”

उहाँले यसो भन्दै गर्दा सांसदद्वय भट्टराई र महतो खतिवडालाई हेर्दै मुसुमुसु हाँसिरहनुभएको थियो । उहाँले बेलिसकेलगत्तै संसद सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले निर्वाचन आयोगबाट आधिकारिक पत्र प्राप्त नभएकाले भट्टराईका लागि बस्ने व्यवस्था गर्न नसकिएको बताउनुभयो ।

“माननीयज्यू निर्वाचन आयोगबाट आधिकारिक रुपले पत्राचार नभएको कारणले गर्दा उहाँ पहिले जुन स्थानमा बस्नुभएको छ, अहिले त्यही स्थानमा हुनुहुन्छ,” उनले भन्नुभयो, “र, निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार भइसके पछाडि हामी उहाँलाई यथास्थानमा बस्ने व्यवस्था गर्नेछौं ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू