अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गोरा जातिको वर्चस्वको आलोचना

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गर्नुभएको छ । टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा समेत गर्नुभयो ।

दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ । उहाँले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलका नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गर्नुभएको थियो । त्यसको तीव्र आलोचना हुँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताउनुभएको छ । सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्ड दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति ट्रम्पले बन्दुकसम्बन्धी कानुन परिमार्जनका लागि एक हुन सबैलाई आह्वानसमेत गर्नुभयो ।

अमेरिकामा सार्वजनिक स्थानमा हुने गोलीकाण्ड बढ्दै गएका बेला बन्दुकसम्बन्धी कानुन अति कडा बनाउनुपर्ने र बन्दुकको अनुमतिको प्रक्रियामा कडाइ गर्ने खालको कानुन बनाउनुपर्ने माग हुँदै आएको छ । डेमोक्य्राटिक पार्टीका नेताले त्यसको वकालतमा साथ दिएका छन् । तर राष्ट्रपति ट्रम्प भने बन्दुकसम्बन्धी कानुन धेरै कडा बनाउने पक्षमा देखिनुभएको छैन ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मानसिक बिरामी र घृणाले आमहत्याका लागि उक्साउने गरेको बताउनुभयो । तर, उहाँले कंग्रेसमा पेश भएको बन्दुक नियन्त्रणसम्बन्धी प्रस्तावको समर्थन भने गर्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू